यी हुन् पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचल्नुका ५ कारण

सोमबार, १० मंसिर २०८१

काठमाडौँ – कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्धा नचल्ने भएको छ । मानव तस्करी प्रकरणमा निर्दोष रहेको ठहर गर्दै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि मुद्दा नचलाउने भएको हो ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता सीताराम अर्यालका अनुसार नक्कली कागजात बनाई जापान लैजाने अपराधमा मन्त्री अधिकारी संलग्न नरहेको पुष्टि हुन आएकाले उनीमाथि मुद्दा नचलाउने निर्णय कार्यालयले गरेको हो। कार्यालयले अनुसन्धानका क्रममा अधिकारी निर्दोष रहेको प्रमाणित भएको बताएको छ।

नेपालबाट जापान जाने क्रममा नारिता बिमानस्थलमा नै तस्करी गरेर मान्छे ल्याएको थाहा पाएपछि नक्कली परिचयपत्र खिचेर अधिकारीले तत्काल नेपाल प्रहरीलाई जानकारी दिएको अनुसन्धानमा खुलेको अर्यालले जानकारी दिएका छन्।

त्यस्तै आफूसहितको टोलीमा तस्करी गरेर मान्छे ल्याएको भन्ने थाहा पाएपछि उनले आफूलाई समेत डिपोट गर्न भनेको पनि अनुसन्धानमा खुलेको अर्यालले जानकारी दिएका छन्। त्यस्तै उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग गरेकाले पनि उनीमाथि मुद्दा नचलाउने निर्णय भएको हो।

त्यस्तै तस्करी गरेर लगिएका ८ जनामध्ये कसैले पनि आफूलाई जापान लैजाने काममा अधिकारीको संलग्नता नपोलेको पनि अर्यालले जानकारी दिए। त्यसैगरी कल डिटेलमा पनि अधिकारीले तीमध्ये कसैसँग कुनै प्रकारको सम्पर्क गरेको नदेखिएका कारण पनि उनलाई मुद्दा नचलाइएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले घटनामा संलग्न अरु ११ जनाविरुद्ध भने मावन बेचबिखन कसुरमा मुद्दा दर्ता गरेको छ।