८० लाख बुझाएर अमेरिका पुगेका युवाको ज्यान गयो

बुधबार, १२ मंसिर २०८१

काठमाडौँ — अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो ।

स्थानीय समयअनुसार बिहीबार राति १२ः३० बजे भएको कार दुर्घटनापछि प्रहरीले ३० वर्षीय चालक तामाङलाई हिरासतमा लिएको छ । न्युयोर्कबाट प्रकाशित हुने नेप्योर्क अनलाइनका अनुसार प्रहरीले विजयलाई मद्यपान गरी सवारी चलाउँदा दुई जनाको ज्यान गएको अभियोगमा हिरासतमा लिएर मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।दुर्घटनामा मृत्यु भएको खबर प्राप्त भएसँगै सुरेश र विवेकको परिवार शोकमा डुबेको छ । अवैध बाटो हुँदै अमेरिका पुगेका आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेशको घरमा भेला भएका आफन्तजन बोल्न सकिरहेका छैनन् ।

अमेरिका जान भनेर २०७९ फागुन १८ मा घरबाट हिँडेका सुरेश २०८० पुस २० मा पुगेका थिए । बुबा हरिबहादुर खत्रीका अनुसार त्यहाँ पुगेर सुरेश रेस्टुरेन्टमा काम गर्थे । सधैंझैं कामबाट डेरामा फर्कने बेला कार दुर्घटना हुँदा सुरेशसहित बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको जानकारी उनले पाएका थिए ।

रुकुमका सुरेश करिब ८० लाख रुपैयाँ दलाललाई बुझाएर तल्लो बाटो (विभिन्न देश हुँदै स्थल र जलमार्गबाट) अमेरिका पुगेका थिए । यसबीच उनले ११ महिनामा करिब १४ लाख रुपैयाँ घरमा पठाएको बाबु हरिबहादुरले बताए । ‘३ देखि ५ प्रतिशत ब्याजमा ऋण काढेर छोरालाई अमेरिका पठाएँ, कमाइरहेकै थियो, एक दिन ऋण तिरेर सकिएला र फेरि बचत होला भन्ने सोचेका थियौं,’ भक्कानिँदै उनले भने, ‘घटना हुनु दुई दिनअघि छोरासँग कुरा भएको थियो, त्यही नै अन्तिम सम्पर्क भयो ।’

पछिल्लोपल्ट कुरा हुँदा छोराले केही दिनमा तलब आउँछ अनि पठाउँछु भनेको सुरेशकी आमा रामकुमारी खत्रीले सुनाइन् । ‘८० लाख ऋणको ब्याजसहित तिर्नुपर्ने रकम करोड नाघेको छ, अहिलेसम्म थोरै मात्र तिरेका छौं,’ छोराको मृत्युको खबर पाएदेखि मुखमा अन्नपानी नहालेकी उनले रुँदै भनिन्, ‘लाख पनि मुस्किलले देखेका हाम्रा थाप्लामा करोडको ऋण आइलाग्यो । कमाउने मान्छेसमेत गुमायौं ।’ सुरेशको परिवारमा आमा, बुबा, तीन बहिनी र ३ वर्षका एक भाइ छन् । अमेरिकामा रहेका सुरेशका साथी सरेश गौतमले त्यहाँको प्रहरीले घटनाबारे छानबिन गरिरहेको जानकारी गराउँदै अहिलेसम्म शव अस्पतालमै रहेको बताए । ‘शुक्रबारसम्म अन्त्येष्टिका लागि शव दिने भनिएको छ, त्यसपछि हामी दाहसंस्कार गर्ने प्रक्रियामा लाग्छौं,’ उनले भने ।

सुरेशका फुपाजु तप्तबहादुर बटालाले उता दाहसंस्कारको काम अघि बढेपछि यता कुशको शव बनाएर विधिपूर्वक अन्त्येष्टि गर्ने सल्लाह भएको बताए । अकल्पनीय शोक र करोडको ऋणमा डुबेको पीडित परिवारलाई सहयोगको खाँचो रहेको छिमेकी दीपक केसीले बताए । ‘एक–दुई हजारले समस्या टर्ने देखिन्न, ठूलो मात्रामा सहयोगको खाँचो छ,’ उनले भने, ‘देशविदेशमा रहेका साथीभाइ र आफन्तबाट सहयोग हुने अपेक्षा गरेका छौं ।’