माछा बेचेर वार्षिक तीन करोड आम्दानी

बुधबार, १२ मंसिर २०८१

काठमाडौँ – स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु। तीन करोड आम्दानी गरेका छन् ।

मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट वार्षिक तीन करोड आम्दानी गर्न सफलभएका छन् । एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन्  ।

मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रमा सञ्चालित फार्मबाट वार्षिक रु। तीन करोडसम्म आम्दानी हुने गरेको उनि बताउछन्  । फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु। तीन करोड आम्दानी भएको उनको भनाई छ ।

लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकबाट अवकाश लिनुभएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बनेका थिए । जनप्रतिनिधि निर्वाचित भएसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको समय हाल माछापालनमा बित्ने गरेको छ ।

चारैतिर वन र दुईतिर खोलाको बीचमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको  फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म केही वर्षअघि आएको बाढीले पूर्ण रुपमा क्षति भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानीमा पुनः सञ्चालनगरेका थिए ।