विवाह मण्डपमा डोजर चल्यो
जुम्ला — विवाहको मण्डपमा डोजर चलेको छ । कर्णालीको प्रमुख धार्मिक पर्यटनको गन्तव्य मानिएको जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा बनाइएको विवाह मण्डपमा डोजर चलेको हो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले पुरातत्त्व विभागको परिपत्रका आधारमा मण्डपमा डोजर लगाएर भत्काएको हो । पुरातत्त्व विभागको परिपत्रमा मन्दिर परिसरमा कंक्रिटले बनेको आधुनिक संरचना मापदण्डविपरीत भएको उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘चन्दननाथ मन्दिर परिसरमा बनेको यज्ञशाला भनिएको आधुनिक संरचनाले मन्दिरको मौलिक स्वरूपलाई असर पारेकाले सो संरचना तत्काल हटाउन २०८१ भदौ २६ गतेको विभागीय निर्णयानुसार अनुरोध छ ।’
तत्कालीन गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतको पहलमा गुठी र चन्दा उठाइएको गरेर झण्डै ११ लाख रुपैयाँ खर्चेर मण्डप बनाइएको थियो । मण्डप बनाउने निर्णय कार्यवाहक अध्यक्ष भएका बेला समितिका सदस्य रहेका रत्नचन्द्र उपाध्यायले निर्णय गरेका थिए । मण्डप बनाउने बेलादेखि नै मन्दिर परिसरमा कंक्रिटको संरचना बनेको भन्दै विरोध हुँदै आएको थियो ।
मण्डप बनिसकेपछि २०७९ मंसिर १८ गते पुरातत्त्व विभागले ऐतिहासिक, धार्मिक र सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको मन्दिर परिसरमा बनेको मण्डपले चन्दननाथ मन्दिरको मौलिक स्वरूपलाई असर पारेको भन्दै परिपत्र पठाएको थियो । मंसिर १६ गते निर्णय गरेर तत्काल उक्त संरचना हटाउन परिपत्र पठायो । उतिबेला परिपत्रको सुनुवाइ नभएपछि २०८१ भदौ २६ गते दोस्रोपटक परिपत्र गर्यो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र चन्दननाथ नगरपालिकालाई बोधार्थसमेत पठाएको थियो ।