तीन कम्पनीको आईपीओ निष्काशन रोकिदिन धितोपत्र बोर्डमा कुलमानको पत्र
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल प्रा.लि. मारुती सिमेन्ट लिमिटेडलगायतका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोकिदिन धितोपत्र बोर्डमा पत्रचार गरेको छ ।
सञ्चालक समितिको बैठकले डेडिकेटेड–टंक लाइन प्रयोगकर्ता उद्योगहरुले तिर्नुपर्ने बक्यौता नतिरेको कारण लाइन नकाट्ने निर्णय गरेसँगै बक्यौता उठाउन प्राधिकरणले वैकल्पिक उपायहरु खोजी गर्न थालेको हो ।
डेडिकेटेड–टंक लाइन प्रयोग गरेवापत रिलासन्स स्पिनिङले ७५ करोड ३६ लाख, एक अर्ब ६० करोड र ५७ करोड ४४ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै अन्य ३१ वटा उद्योगहरुले पनि बक्यौता तिरेका छैनन् । यी तीन वटा उद्योगहरुको आईपीओ निष्काशन प्रक्रिया अगाडि बढिसकेको छ ।
प्राधिकरणले बोर्डलाई पत्र देख्दै भनेको छ, ‘विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ ९क० बमोजिम सरकारी बाँकीसरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका कम्पनीको सर्वसाधारण सेयर बिक्रीको इजाजत रोक लगाई प्राधिकरणको रकम असुली गर्न र सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने अवस्थाको संरक्षण गर्ने कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।’
बक्यौता रकम असुलीको वैकल्पिक उपायअन्तर्गत प्राधिकरणले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेर उद्योगहरुको खाता रोक्का राखिदिनसमेत आग्रह गरेको छ ।