प्रधानमन्त्रीसँग ८७ जना चीन जाने, करोडौँ खर्च हुने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । ३९ जना सरकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन गएकी छिन् ।
उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।
यो भ्रमणको सम्पूर्ण आर्थिक जिम्मेवार सरकारको हुनेछ । नेपालबाट चीन जाने र आउने हवाई टिकट, खान, बस्न, यातायात तथा भ्रमण भक्ताको सम्पूर्ण खर्च प्रधानमन्त्री कार्यालय तथा चीनस्थित नेपाली दूदावासले व्यहोर्ने छ ।