सुतिरहेका बेला ईंट्टाले हानेर श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या
काठमाडौँ – कञ्चनपुर बेलौरी नगरपालिका–६ भुराकोट की जनककुमारी रानाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । ४९ वर्षीय श्रीमान् सियाराम रानाको जनककुमारीले ईंट्टाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बिहीबार आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएका रानाको हत्या उनकै श्रीमतीले गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिएका हुन् ।
शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । तर शवको अवस्था चिप्लिएर लडेको र सोही कारण मृत्यु भएको भन्दापनि हत्या भएको जस्तो देखिपछि प्रहरीले अनुसन्धनको सुरु गरेको थियो ।
त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शंकास्पद बनेको थियो ।
मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।
।केहीबेरको केरकारपछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईटा प्रहार गरि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।