नक्कली यौनजन्य औषधी बिक्री गर्ने तिन जना पक्राउ

शनिबार, १५ मंसिर २०८१

काठमाडौँ – प्रहरीले नक्कली यौनजन्य यार्सागुम्बा औषधी उत्पादन तथा बिक्री वितरण गरी ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामेछाप, दोरम्बा–२ घर भई काठमाडौँ कागेश्वरी मनोहरा–६ बस्ने सुजन गौतम, काभ्रेपलाञ्चोक, नमोबुद्ध–२ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक–४ बस्ने सुजन खड्का र ओखलढुङ्गा सिद्धिचरण–७ घर भई काठमाडौँ बुढानीलकण्ठ–११ बस्ने डिल्लीप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूले यौन क्षमता वृद्धि गर्ने भनी यार्सागुम्बा, सताबरी, अश्वगन्धा, सिलाजित, यार्सागुम्बाको नाम राखी नक्कली औषधी तयार गरी बिक्री वितरण गरेको पाइएको छ ।

यौन क्षमतासँगै शक्ति बढाउने, स्टामिना बढाउने भनी शिखर यार्सा पावर, हिमाली यार्सा प्लस, यार्सागुम्बा गोल्ड, यार्सा किङ, हिमाली यार्सागुम्बा, यार्सागुम्बा किङ, यार्सागुम्बा किङ प्लस, यार्सागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर जिम्नेमा, पायल्स निको आयलजस्ता नक्कली औषधी बरामद गरेको ब्युरोले जनाएको छ ।

चाचरी तेल, बुटिया सुपरबा हर्बल आयलजस्ता नाम राखेर सामाजिक सञ्जालबाटै आकर्षक र अश्लील विज्ञापन गरी प्रतिबट्टा दुई हजारदेखि तीन हजार रुपियाँसम्ममा बिक्री गरी सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ललितपुर, महालक्ष्मी­­­–८, लुभु, टाउनप्लानिङमा बायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लिमेन्ट फ्याक्ट्रीको नाममा उत्पादन भएका ती नक्कली औषधी भक्तपुर, मध्यपुर ठिमी नगरपालिका­–३ गठ्ठाघरस्थित सुरेन्द्र श्रेष्ठको घरको पहिलो तल्ला भाडामा लिई राखेको अवस्थामा नक्कली औषधी ब्युरोले बरामद गरेको हो ।