३३ स्थानको मतपरिणाम सार्वजनिक, कसले कति जिते ?
काठमाडौँ – स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले १ गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ।
नेकपा (माओवादी केन्द्र) ले एउटा गाउँपालिका अध्यक्ष, १ नगरपालिका उपप्रमुख र पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्।
नेपाली कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८, सुनसरीको गढी गाउँपालिका—६, रौतहटको ईश्नाथ नगरपालिका—७, रौतहटको राजपुर नगरपालिका—६, काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १, हेटौंडा—१२, गुल्मीको मुसिकोट–१, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४, जाजरकोटको कुशे गाउँपालिका—७, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५, बझाङको सूर्मा गाउँपालिका—४, डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका—६ मा जित हाँसिल गरेको छ ।
एमालले दैलेखको महावु गाउँपालिका अध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, ओखलढुंगाको मोलुङ गाउँपालिका ५, ताप्लेजुङको सिरिजंघा—३, महोत्तरीको रामगोपालपुर नगरपालिका—२, कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा निर्वाचित भएको छ ।
यता माओवादीले मोरङको ग्रामथान गाउँपालका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२, धनुषाको धनुषाधाम नगरपालिका—१, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २, गोरखा नगरपालिका—५, रोल्पाको पुथा उत्तरगंगा—२ को वडाध्यक्षमा जित निकालेको छ ।
स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ। निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा धिरेन्द्रकुमार शाह निर्वाचित भए। डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाका देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी, रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादी, कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टी र झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् ।