फेरि नेपाल आउँदै अमेरिकी सहकायक विदेश मन्त्री ‘लु’
काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । नेपालमा एमसीसी परियोजनाको कार्यान्वयनको अवस्था, चिनियाँ विकास परियोजना बेल्र्ड एण्ड रोड इनिसियटीभ (विआरआई)मा दुई ठूला दलले गरेको सहमति लगायतका विषयमा बुझ्न लु नेपाल आउन लागेका हुन् ।
दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका हुँदै नेपाल भ्रमणमा आउने तालिका रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता गर्ने छन् ।
भेटवार्तामा एमसीसी कार्याज्वयनको अवस्था, विआरआई रोक्न सकिने सम्भावना लगायतका विषयमा छलफल हुने बुझिएको छ । उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाको विश्वास छ ।
उनले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लोपटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए । त्यसअघि उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार नेपाल आइपुगेका थिए ।
त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।
एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए । संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।