बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपाली महिला

मंगलबार, १८ मंसिर २०८१

काठमाडौं – बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट सय प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन्।

बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ। बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन्।

सूचीमा पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्यसमेत छिन्। त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा परेका छन्।

शिलशिला आचार्य नेपालमा लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय उद्यमी हुन् । बीबीसीका अनुसार उनी नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउँछिन्। उनले फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामको संस्था चलाउँदै आएकी छिन्।