दक्षिण कोरियामा राष्ट्रपति योललाई महाअभियोग लगाउने तयारी
काठमाडौँ – दक्षिण कोरियामा राष्ट्रपति यून सुक योलले इमरजेन्सी मार्सल ल लगाएपछि दक्षिण कोरिया अशान्त बनेको छ । राष्ट्रपति योलले लगाएको मार्सल ल संसदबाट फिर्ता भएपछि अधिकांश सांसदले उनको राजीनामा मागेका छन् । राजीनामा नआए महाअभियोगको सामान गर्न उनकै पार्टीका सांसदहरुले चेतावनी दिएका छन् ।
मंगलबार साँझ राष्ट्रपति योलले टेलिभिजनबाट सम्बोधन गर्दै जारी गरेको मार्सल ल त्यहाँको संसदले उल्ट्याइदिएको थियो। मार्सल ल जारी गरेपछि संसदले उल्ट्याउन सक्ने आकलन गर्दै राष्ट्रपति योलले संसद भवनमा सेना पठाएका थिए। त्यसका बाबजुद पनि त्यहाँ ३०० सांसदमध्ये १९० सांसद बेलुका नै संसदमा उपस्थित भएर राष्ट्रपतिको निर्णय उल्ट्याएका हुन्।
राष्ट्रपतिको निर्णयमा उनकै दलका सांसदहरू विपक्षमा उभिएका थिए। राष्ट्रपतिको निर्णयको विपक्षमा मतदान गर्न दक्षिण कोरियाका विपक्षी दलका नेता ली जे म्युङ पर्खाल नाघेर संसद भवन प्रवेश गरेको भिडिओ भाइरल भएको छ। लीले मार्सल ल घोषणा भएपछि त्यसलाई निष्क्रिय तुल्याउने प्रयोजनका लागि संसद भवन जाँदै गर्दा आफ्नै लाइभ भिडिओ खिचेका थिए।
रातको समयमा उनी संसद भवनतर्फ दौडिँदै गइरहेको भिडिओमा देखिन्छ। उनी पर्खाल नाघेर संसद भवन परिसरमा पुगेको भिडिओमा देखिएको छ। दक्षिण कोरियामा राष्ट्रपतिको निर्णयलाई बहुमत सांसदले उल्ट्याउन सक्ने व्यवस्था छ। राष्ट्रपतिको निर्णयविरूद्ध त्यहाँका जनता र नागरिक समाज पनि सडकमा उत्रिएका थिए।
आफ्नै निर्णय उल्टिएपछि राष्ट्रपति योललाई राजीनामा गर्नुपर्ने दबाब बढेको छ। त्यहाँका सांसदहरूले उनलाई राजीनामा कि महाभियोग सामना गर्न भनेका छन्।