रिस नियन्त्रण गर्ने उपाय

सोमबार, २४ मंसिर २०८१

रामु नामका एक व्यक्ति बाल्यकालदेखि नै निकै रिसाहा थिए । उमेर बढ्दै जाँदा उनको रिसको मात्रा पनि बढ्दै गयो । उनको परिवारका सदस्य पनि यसबाट निकै चिन्तित थिए । उनका साथी त लगभग थिएनन् नै भने पनि हुन्छ । रामु आफ्नो रिस नियन्त्रण गरेर सुध्रिन चाहन्थे । तर, उनी सफल भइरहेका थिएनन् ।

रामुका श्यामु नामका एक असल मित्र थिए । एकपटक उनले रामुलाई एक सन्तको आश्रममा लिएर गए । रामुले सन्तलाई आफ्नो समस्या बताए । उनको कुरा सुनिसकेपछि सन्तले उनलाई आफ्ना दुवै हातमा मुठी बनाउन र त्यसलाई खोल्न लगाए । रामुले पटक–पटक त्यो कार्य दोहोर्‍याए । मुठी बाँध्ने र खोल्ने गर्दागर्दा रामुलाई दिक्क लाग्यो । उनले सन्तसित भने– सन्त महाराज, मलाई मेरो समस्याको समाधान चाहिएको छ । यस्तो अभ्यास गरेर किन समय खेर फाल्नु ?

रामुको कुरा सुनेपछि हल्का मुस्कुराउँदै सन्तले भने– बाबु, तिमीले आफ्नो मुठी आफैँ बन्द गर्ने र खोल्ने गर्नुको अर्थ तिम्रा अंगमाथि तिम्रै नियन्त्रण छ । त्यसैले त तिमीले चाहँदा मुठी बाँध्यौ र खोल्न चाहँदा खोल्यौ । त्यसैले, आफ्ना अंगलाई जस्तै आफ्ना विचारलाई पनि मानिसले नियन्त्रण गर्न सक्नुपर्छ । जब–जब तिमीलाई रिस उठ्छ, त्यतिखेर तिमी प्रस्ट हुनुपर्छ, तिम्रो विचारका मालिक तिमी मात्र हौ ।

त्यसैले, तिमीले त्यसलाई आफ्ना अंगलाई जसरी नै नियन्त्रणमा राख्ने कोसिस गर्नुपर्छ । हामीले अरूलाई त आफूले चाहँदैमा नियन्त्रणमा राख्न सक्दैनौँ । तर, आफूमाथि भने हामीले जहिले चाहन्छौँ, तहिले नै नियन्त्रण गर्न सक्छौँ ।

रिसले आफैँलाई मात्र हानि गर्ने हुनाले अलिकति सचेत भएर यसलाई नियन्त्रणको प्रयास गर्ने हो भने रिसको नियन्त्रण असम्भव छैन ।