कमलादीमा भासिएको सडक आजदेखि सुरु
काठमाडौँ – कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण पछि आजदेखि प्रयोगमा ल्याइएको छ । सडक विभागले पुननिर्माण गरेको सडकमा एक कार्यक्रमको आयोजना गरी रिबन काटेर सडक खोलिएको हो ।
साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारु गरिएको हो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।