राज्यले मलाई खेदेको खेदै छ छाडिदिए गर्व हुनेछ श्रीमान्
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई हिरासतमुक्त गरिदिन न्यायाधीशसँग आग्रह गरेका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा बिहीबार कुरा राख्दै लामिछानेले आफूलाई हिरासतमुक्त गर्दा न्यायाधीशलाई पनि गर्व हुने बताए।
‘आज मलाई छोडिदिनुभयो भने भोलि तपाईंलाई पनि राज्यले खेदेको मान्छेलाई मैले छोडिदिएँ भनेर गर्व गर्नु हुनेछ,’ लामिछानेले इजलासमा भने, ‘जनताको लागि मुद्दा लड्ने मान्छे मुक्त भयो भन्ने सन्देश जानेछ।’
आफू हिरासतमुक्त भएपछि न्यायाधीश र अदालतको शिर झुक्ने गरी कुनै कार्य नगर्ने पनि उनले प्रतिबद्धता जनाएको इजलासमा उपस्थित एक वकिलले बताएका छन् ।
इजलासमा लामिछानेका कुरा सुनेपछि न्यायाधीश पौडेलले अभियोग पत्र आउँदा कति संलग्नता छ भन्ने हिसाब आउने बताएका थिए।