दुर्गा प्रसाईंमाथि पर्यो ठूलो बज्रपात

बुधबार, ३ पौस २०८१

काठमाडौँ – प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंमाथि ठूलो बज्रपात परेको छ । बैंकको ऋण नतिर्ने अभियान चलाएका प्रसाईँको पूर्वाञ्चल क्यान्सर अस्पताल लिलामी हुने भएको छ ।

कुमारी बैंकको ऋण तिर्न नसक्दा बैंकको बिर्तामोड शाखाले ऋण असुलीका निम्ति ताकेता गरेको थियो । ऋण नतिर्ने भन्दै प्रसाईं उच्च अदालत विराटनगरमा निषेधाज्ञाको रिट लिएर गरेका थिए । अदालतले उनको रिट खारेज गरिदिएसँगै बैंकलाई अस्पताल लिलामी गर्ने बाटो खुलेको छ ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ । प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए ।