हातगोडा घिसारेरै दैनिकी चलाइरहेका नरबहादुर सामान्य मान्छेभन्दा खुशी
काठमाडौँ – डोटीको बोगटान फुडसिल गाउँपालिकाका नरबहादुर बोहराका चार हातखुट्टै सद्य छैनन् । दुवै हातका औंला पन्जासहित बाउँडिएका छन् भने मसिना खुट्टा विपरीत दिशातर्फ मोडिएका छन् । छरछिमेकी, नेता, जनप्रतिनिधिदेखि पत्रकारसम्म आएर पीडा र व्यथा सोध्दा सहजै जवाफ दिन्छन् । हातगोडा घिसारेरै दैनिकी चलाइरहेका नरबहादुर सामान्य मान्छेभन्दा खुशी छन् ।
खत्याडी, डोटी — बोगटान फुडसिल गाउँपालिका–७ खत्याडीका नरबहादुर बोहरा पूर्ण अशक्त छन् । उनका दुवै हातका औंला पन्जासहित बाउँडिएका छन् भने मसिना खुट्टा विपरीत दिशातर्फ मोडिएका छन् । हातगोडा घिसारेरै उनको दैनिकी चल्छ । जुन दिन घिस्रिन सक्दैनन्, उनको दिनचर्या त्यहीँ रोकिन्छ ।
‘छरछिमेकी, नेता, जनप्रतिनिधिदेखि पत्रकारसम्म आएर पीडा र व्यथा सोध्छन्,’ उनले भने, ‘गुम्सिएका व्यथा सुनाएर के गरौं, जे छ मनमै छ, गुम्स्याएर राख्नुमै चित्त बुझाउँछु ।’
नरबहादुरका छिमेकी देवबहादुर बमका अनुसार अशक्त भए पनि नरबहादुर पढाइमा जेहेन्दार रहेको र आफू ४ कक्षामा पढ्दा पढ्दै कक्षा ३ सम्मकालाई ट्युसन पढाउने गर्थे अक्षर पनि कम्प्युटरमा छापेजस्तै लेख्थे।
गाउँमा पढेलेखेका व्यक्ति नभएका बेला नरबहादुरले विभिन्न विद्यालयका विद्यार्थीलाई पढाए । गुरुदेव प्रावि दमौलीमा ४ वर्ष, सुनपाली प्रावि बडीकेदारमा डेढ वर्ष, खत्याडी माविमा केही वर्ष पढाएको पनि उनीसँग अनुभव छ । बिस्तारै विद्यालयका कोर्सहरू परिवर्तन हुँदै गए, विभिन्न नीति नियम बन्दै गएपछि उनले शिक्षण पेसा छोड्नु पर्यो ।
५२ वर्षीय नरबहादुरले एक वर्षको उमेरमै बुवा गुमाए, १७ वर्षको उमेरमा आमा । ४ दाजुभाइमध्ये उनी कान्छा हुन् । एक बहिनी छन् । उनका २ दाजु बितिसके । अहिले उनी जेठी भाउजूको सहारामा बसेका छन् ।