कुमारी बैंकबाट हरायो दुई अर्ब, सिस्टममै समस्या
काठमाडौँ – कुमारी बैंक लिमिटेडबाट दुई अर्बको हिसाव गायव भएको छ । बैंकले उत्पादनशील क्षेत्रमा गरेको लगानीको हिसाव सिस्टमबाट गायव भएको हो ।
नेपाल राष्ट्र बैंकले प्रतिशत नै तोकेर उत्पादनशील क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । बैंकले तोकिएको प्रतिशत लगानी गर्न नसकेको खण्डमा आर्थिक जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
नेपालमै रोजगारी सृजना गर्न, उत्पादन बढाउन, युवालाई स्वरोजगार बनाउन सरकाले ल्याएको नीति अनुसार नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्दा निश्चित प्रतिशत उत्पादशील क्षेत्रमा अनिवार्य लगानी गर्न बाध्याकारी व्यवस्था गरेको थियो । उत्पादनशील क्षेत्रमा लगानी गर्न डराएको कुमारी बैंक (तत्कालिन एनसीसी बैंकसमेत)ले विभिन्न जालझेल र षड्यन्त्र गर्दै जरिवानाबाट जोगिन गैरकानुनी कर्जा खरिद विक्रि गरेको थियो ।
आर्थिक बर्ष २०७५/०७६ मा बैंकले उत्पादनशील क्षेत्रमा तोकिएको प्रतिशत पुर्याउन नसकेपछि फागुनमा एक बैंकलाई २ अर्बको कर्जा विक्रि गरेको थियो भने सोही रकमको कर्जा खरिद गरेको थियो । खरिद विक्रि गरेको उक्त कर्जा अहिले बैंकको सिस्टममा देखिएको छैन ।
सूचनाको हकको प्रयोग गर्दै बैंकसँग माग गरिएको सूचनामा बैंकले आर्थिक बर्ष २०७५/०७६ मा कुनै पनि बैंकसँग कर्जा खरिद विक्रि नगरेको जनाएको छ । बैंकका तत्कालिन सूचना अधिकारी मुकुन्द सुवेदीले बैंकको मर्जर पश्चातको अभिलेखमा उपलब्ध भए अनुसार आर्थिक वर्ष २०७४/२०७५, २०७५/२०७६ र २०७६/२०७७ मा तत्कालिन एनसीसी बैंक र कुमारी बैंकबाट कुनै कर्जा खरीद र बिक्रि भएको नभेटिएको जानकारी दिएका छन् ।

तर अर्को एक बैंकसँग माग गरिएको सूचनामा आर्थिक बर्ष २०७५/२०७६ को फागुनमा २ अर्बको कर्जा खरिद गरेको विवरण प्राप्त भएको छ । उक्त बैंकले कुमारी लगायतका बैंकबाट कर्जा खरिद विक्रि गरेको भन्दै कर्जा खरिद गरेको महिना, रकम र कर्जा शीर्षकसमेत उपलब्ध गराएको छ ।

यसरी हेर्दा एनसीसीसँग मर्जर हुँदा कुमारी बैंकको सिस्टम कोल्याप्स भएको अनुमान लगाउन सकिन्छ । बैंकका जिम्मेवार कर्मचारीले सिस्टममा विवरण नभेटिएको भनेर लिखित जवाफ दिनु बैंकको सिस्टममात्र होइन सुशासनमा समेत निकै कमजोर रहेको अर्थ लगाउन ससकन्छ ।
यता बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले पुरानो विवरण भएकाले कर्मचारीले गल्ती गरेको हुनसक्ने बताए । ‘सर त्यो २०७५ को भएर साथीहरुले मिस्टेक गरेकी !’, मोटिभेट न्यूजसँग खनालले भने । कुमारी बैंकका कर्मचारी सीईओबाट भन्दा संचालक समितिका अमुख व्यक्तिबाट चल्ने भएकाले बैंक निकै ठूलो समस्यामा परेको एक कर्मचारीले बताए ।