काठमाडौँमा पनि रविसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्धा दर्ता हुँदै
काठमाडौँ – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मु्द्धा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
प्रहरीले सहकारीको अपचलनमा संलग्न रविसहित जीबी राई, छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी, विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई प्रतिवादी कायम गरेर १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी लिन सरकारी वकिललाई राय दिएको हो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रहरीले प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । दिपेश पुन पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ५ हजार ६६९ जना बचकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ जम्मा गरेको भेटिएको छ । केन्द्रीय कार्यालय कालिमाटीमा रहेको सो सहकारीको शाखा न्यूरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा पनि खोलेर आर्थिक कारोबार गरेको भेटिएको छ । रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए ।