जिल्ला भरिकै नपत्याउँदा कान्छा वडासचिव विशाल

बुधबार, १७ पौस २०८१

काठमाडौँ – अर्घाखाँचीका विशाल १८ वर्षकै उमेरमा नायब सुब्बा मात्र भएनन्, रूपन्देहीमा कम उमेरका वडासचिव पनि बन्न सफल भएका छन्।

अर्घाखाँचीको पाणिनि–५, मैदानमा जन्मिएका  १८ वर्षीय युवा  नायब सुब्बा विशाल घिमिरे  लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मा कार्यरत उनी जिल्लामै कान्छा वडा सचिव पनि हुन् । कम उमेरमै सरकारी सेवामा छिरेका घिमिरे यत्तिमै मात्र सीमित छैनन् ।

‘यो त सुरुवात मात्र हो,’ सानैदेखि सरकारी जागिरे बन्ने रुचिअनुसार लोक सेवातर्फ आकर्षित बनेको बताउँदै उनले भने, ‘लक्ष्य त अझै ठूलो छ नि ।’ उमेरसँगै सरकारी उच्च तहको यात्रा कायम राख्ने उनी बताउँछन् । साथै, छिटै उपसचिव बनेर सेवा गर्ने चाहना रहेको बताउँछन् ।

नायब सुब्बा घिमिरेले सरकारी जागिरमा नाम निकाल्न कुनै इन्स्टिच्युट धाएनन् । ‘स्वअध्ययन गरेरै सफल भएँ,’ भने, ‘रुचि थियो, त्यसैले दैनिक ८ घण्टाजति समय पढाइलाई दिइन्थ्यो, पढेअनुसार नाम पनि निकालियो ।’ उनी अहिले पनि लोक सेवाको तयारी गरिरहेका छन् । २३ वर्षमा अधिकृत र त्यसपछि क्रमशः पद बढाउँदै लैजाने उनको इच्छा छ ।

लोक सेवा तयारी कक्षाका लागि उनको अध्ययनको शैली छुट्टै छ । ‘मेरो पढाइको सूत्र बेग्लै खालको छ, सर्ट फर्म बनाउने, फर्मुला याद गरेर पढ्दा सम्झन सहज हुन्छ,’ उनले भने । अरूले पढाउँदा उनीहरूकै सूत्रअनुसार सम्झन र बुझ्न समस्या हुने भएकाले आफैंले चित्र, सर्ट फर्म र धर्सा कोरेर अध्ययन गर्ने गरेको उनी बताउँछन् ।

‘मैले तयार गरेको फर्मुलाले पढ्दा त्यतिबेला पढेका सबै कुरा अहिलेसम्म पनि ताजै छन्,’ घिमिरेले सुनाए, ‘यही तरिका अपनाएर भविष्यमा पनि पढ्नेछु ।’ विशाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने चाहना छ ।