समय पालनाको महत्व
मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) ७ कक्षा पढ्दाको कुरा हो । उनी पढ्ने स्कुलका प्रधानाध्यापक थिए– दोरबजी एदुलजी गिमी । उनी निकै अनुशासनप्रिय थिए । उनले विद्यार्थीका लागि व्यायाम, खेलकुद र क्रिकेट अभ्यासमा भाग लिन अनिवार्य गरिदिएका थिए ।
तर, गान्धीलाई पिताको सेवा, स्याहार सुसारका लागि स्कुलपछि छिटै घर जानुपथ्र्यो । त्यसैले, उनले खेलकुदबाट छुट्टी पाऊँ भनी प्रधानाध्यापकलाई निवेदन लेखे । तर, उनले छुट्टी पाएनन् ।
एक शनिबार स्कुल बिदा भए पनि अपराह्न ४ बजे खेलकुद अभ्यासका लागि स्कुल जानुपर्ने थियो । गान्धीसित घडी थिएन । आकाशमा पनि कालो बादल मडारिइरहेको थियो । त्यसैले उनले समयको ठिक अनुमान लगाउन सकेनन् । जब उनी स्कुल पुगे, त्यतिखेर सबै विद्यार्थी घर फर्किसकेका थिए । भोलिपल्ट प्रधानाध्यापकले उनीससित खेलकुद कक्षामा गयल हुनुको कारण सोधे ।
उनले जे भएको थियो, त्यसबारे सबै यथार्थ बताए र माफी पनि मागे । तर, प्रधानाध्यापकलाई उनले झुटो बोलिरहेका छन् जस्तो लाग्यो । त्यसैले, उनले गान्धीलाई सजायस्वरूप दुई आना जरिवाना तिराउने निर्णय गरे ।
प्रधानाध्यापकको निर्णयले उनको मनमा निकै गहिरो पीडा भयो । साँचो बोल्दाबोल्दै पनि प्रधानाध्यापकले आफूलाई झुटो सम्झेकोमा उनलाई छटपटी भयो । अर्को दिन पिताले जे भएको थियो, त्यही यथार्थ हाल खुलाएर प्रधानाध्यापकलाई पत्र पठाए । घडी नभएर सही समयको अनुमान नहुँदा खेलकुद कक्षा छुटेको थाहा पाएपछि प्रधानाध्यापकले उनीमाथि लगाएको जरिवाना हटाइदिए । त्यस दिनदेखि बालक गान्धीले आजीवन साँचो बोलिरहने र समयको मूल्य बुझेर पाइला चाल्ने प्रण गरे । परिणामतः त्यसपछिका दिनमा उनले समयको पालना र सत्यवादितामा कहिल्यै कुनै त्रुटि हुन दिएनन् ।