सागमा अत्यधिक विषादी भेटियो, कसरी जोगिने ?
काठमाडौँ – उपत्यकामा उपलब्ध सागमा विषादीको प्रयोग अत्यधिक हुन थालेको पाइएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा उत्पादित सागजन्य तरकारीमा विषादीको प्रयोग बढी भेटिएको हो ।
कालीमाटी तरकारी बजार विकास समितिले दैनिकरुपमा परीक्षण गर्ने रिपोर्टमा रायो, भाजी, जिरी, मार्फा, पाकुचा लगायत सागमा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार (पुस २४ गते) १४ वटा नमुना परीक्षण गर्दा ४ वटा सागजन्य तरकारीको नमुनामा विषादी भेटाएको छ ।
भक्तपुर क्षेत्रमा उत्पादन गरिएका जिरी र पाकुजा सागमा क्रमशः ८८.८४० प्रतिशत र ५४.८६४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको छ । यस्तै, काठमाडौँ क्षेत्रमा उत्पादन भएका मार्फा सागमा ८३.६६३ प्रतिशत र भाजी तथा रायोको सागमा ९९.२३३ प्रतिशत अर्गानोफस्फेट विषादी पाइएको छ ।
समितिले पुस २३ गते ती सागहरूमा कार्बामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाएको छ । उक्त सागमा ५५.६१९६ प्रतिशत कार्बामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको थियो ।
यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ ।
कसरी जोगिने ?
विषादीबाट जोगिनका लागि उत्पादकदेखि उपभोक्ता सबै सतर्कता हुनुपर्ने जानकारहरू बताउँछन् । उत्पादकले सकेसम्म विषादी प्रयोग गर्न नहुने यदि प्रयोग गर्नेपर्ने भएमा हरियो र नीलो लेबल भएको विषादी प्रयोग गर्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जनाएको छ ।
नार्कले विषादी प्रयोगपछि प्रयोग गर्न मिल्ने समयसम्म कुरेर मात्रै बजारमा लैजाने वा उपभोग गर्न सुझाएको छ । उपभोक्ताले विषादी प्रयोग भएको शंका लागेको मनतातो पानीले पखलेर वा नूनपानीमा केही समय तरकारी भिजाएर प्रयोग गनुपर्ने नार्कको सुझाव छ ।