नेपाल लाइफ इन्स्योरेन्सको २८ लाखले लियो सियारामको ज्यान

बिहिबार, ३ माघ २०८१

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाले श्रीमति जनककुमारीको सल्लाहमा २८ लाखको जीवन बीमा गर्छन् । सियारामले २८ लाखको बीमा गरेको कुरा जनककुमारीमार्फत भारतीय नागरिक फारुखले थाहा पाउँछन् ।

नेपाल–भारत सीमाबाट तस्करीका सामान ओसारपसारको काम गर्नेक्रममा जनककुमारी र फारुखबीच चिनजान भएको थियो । बीमाको रकम हत्याउन जनककुमारीले फारुखसँग मिलेर सियारामको हत्या गर्ने योजना बनाउँछन् । त्यो योजना अनुसार सियारामको १३ मंसिरमा मृत सुतेकै अवस्थामा हत्या भएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।जनककुमारीलाई भोलिपल्टै नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले भारतीय नागरिकको समेत संलग्नता खुलेपछि भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए । सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

उनीहरुले सियाराम रानाको हत्या गरिसकेर शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो ।

खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुुद्दा चलाइएको थियो ।

जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।