गोर्खाका युवाले लगाए उर्जामन्त्रीको गालामा चट्कन

शुक्रबार, ४ माघ २०८१

काठमाडौं – उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री दीपक खड्कामाथि एक युवाले हमला गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमै पुगेर गोर्खाका हरि पोखरेलले मन्त्रीमाथि हातपात गरेका हुन् । यो घटना पुस २६ गतेको हो ।

कार्यकक्षबाट निस्कँदै गर्दा पोखरेलले उनलाई आक्रमणक गरेका थिए । सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका बेला मन्त्री खड्का यो विषयमा जानकारी गराएका थिए ।

संसदीय दल कार्य समितिका सदस्यहरुसमेत सहभागी बैठकमा मन्त्री खड्काले शुरुमा मन्त्रालयका गतिविधिबारे संक्षिप्त भनाई राखेको सहभागी एक जनाले सुनाए । सोही क्रममा उनले आफूमाथि हातपात भएको घटना चुहाएका हुन् । उनका अनुसार खड्काले पार्टीका अन्य मन्त्रीहरूलाई सचेत गराउने मनसायले आफूमाथि भएको घटना सुनाएका थिए ।

गृहमन्त्री रमेश लेखकले ‘एक हप्तासम्म किन घटना लुकाउनुभएको ?’ भनेर कोट्याएपछि उनले त्यसबारे थप खुलाएका थिए । खड्काको भनाई उद्धृत गर्दै ती सांसदले भने, ‘पोखरेल (हरि) भन्ने व्यक्तिले ममाथि दुव्र्यवहार गरे, सुरक्षाकर्मी साथीहरुले सहयोग गर्नुभयो र नराम्रो केही हुन पाएन । अन्य मन्त्रीज्यूहरुले आफ्नो सुरक्षा व्यवस्थालाई ध्यान दिनुहोला ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको लफडाले नागरिक तहबाट आलोचना खेपिरहेका मन्त्री खड्काले थप विवाद नहोस् भन्ने उद्देश्यले घटना लुकाएको हुनसक्ने काँग्रेस नेताहरुको अनुमान छ । हातपातमा संलग्न भनिएका व्यक्तिलाई एक दिन सिंहदरबार प्रहरी वृत्तमा राखेर छाडिएको बुझिएको छ । मन्त्री खड्का आफैँले प्रहरी संयन्त्रलाई घटनाबारे बाहिर हल्ला नगर्न सुझाएका थिए ।