रास्वपा सभापति रवि लामिछानेले बनाए अर्को विश्व रेकर्ड
काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेले अर्को विश्व रेकर्ड बनाएका छन् । ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्दै सबैभन्दा लामो टेलिभिजन कार्यक्रम चलाएर विश्व रेकर्ड कायम गरेका लामिछानेले सहकारी ठगी मुद्धामा सबैभन्दा धेरै धरौटी बुझाउने व्यक्ति बनेर विश्व रेकर्ड बनाएका छन् । रवि ८४औँ दिनमा हिरासतमा बसेर तीन वटा अदालतमा २ करोड २५ लाख रुपैयाँ बुझाएर हिरासतमुक्त भएका छन् ।
।कास्की जिल्ला अदालतले रविलाई ८४ औँ दिनमा हिरासतमुक्त गराउन सर्त तेर्स्यायो । ६५ लाख धरौटी माग्ने आदेशलाई रवि र उनको दल रास्वपाले सहज रुपमा लियो । रविले बाहिर आएर न्याय मरेको रहेनछ भनेर टिप्पणी गरे । उनका समर्थकहरुले ताली बजाए ।
काठमाडौँ आएपछि रविको धरौटी रकम केही घट्यो । सूर्यदर्शन सहकारी ठगीमा ६५ करोड धरौटी बुझाएर आएका रवि काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दामा ६० लाख धरौटी बुझाउन पुगे । यति ठूलो रकम धरौटी माग्नुका पछाडि अदालतले भनेको थियो– रवि तत्काल मिसिलसंलग्न प्रमाण हेर्दा निर्दोष नदेखिएकाले धरौटी बुझाउनू । तर रवि धरौटीमा छुट्नुलाई उनी स्वयं र उनका समर्थकहरुले निर्दोष सावित भएर निसर्त छुटेजसरी खुसीको विषय बनाए । उत्सव मनाए ।
तिनै रवि बुटवल पुगेपछि भने रास्वपालाई नराम्रो झट्का लागेको छ । सुप्रिम सहकारीको ठगी प्रकरणमा रवि निर्णायक र योजनाकारमध्येकै एक रहेको भन्ने आधार समेत प्रस्तुत गरी रुपन्देही अदालतले उनीसँग एक करोड रुपैयाँ धरौटी माग्यो । आदेशमा भनिएको थियो, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. १ करोड नगद धरौट, जेथाजमानत वा सर्तसहित बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू, सो बुझाउन नसके कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार पठाउनू।’
रकमको यो अंक सुनिसकेपछि रविहरु अक्क न बक्क परेका छन् । भलै उनीहरुले तत्कालै बैंक ग्यारेन्टी जम्मा गरेका छन् र रवि तत्कालै छुटेका छन् । यसले रास्वपा र रविलाई नराम्रो धक्का लागेको छ । तीनवटा अदालतको धरौटी जोड्दा २ करोड २५ लाख पुगिसकेको छ ।