ट्रम्पले गरे १२ वकिललाई पदबाट बर्खास्त

मंगलबार, १५ माघ २०८१

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् । कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।

राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् । बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।

जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हालेलगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ ।