आउन थाले बालेनले सुरु गरेका महत्वपूर्ण कामको नतिजा
काठमाडौँ – काठमाडौँका मेयर बालेन शाहले सुरु गरेका केही महत्वपूर्ण कामहरुको नतिजा आउन थालेको छ । काठमाडौँको प्रदूषण नियन्त्रण गर्न चेकजाँच गर्दा ६० प्रतिशत सवारीसाधन फेल भएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको छ । आगलागी नियन्त्रण गर्न साँघुरा सडक तथा गल्लीमा ड्राइराइजर जडान गरेको छ। प्रदूषणसम्बन्धी सचेतना, सडक र घरमा रङरोगन, शिक्षकहरूलाई तालिम, रोजगारी सिर्जना गर्न सीप मेला, श्रम बैंक सञ्चालन गरेर बालेन स्थानीयको मन जितेका छन् ।
महानगरपालिकाका अनुसार महानगरपालिकाले हालसम्म २९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा १७४ वटा अर्थात ६० प्रतिशत सवारीसाधन फेल भएका छन्। तीमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारीसाधन जाँच गर्दा १४ वटा फेल भए भने डिजेलबाट चल्ने २२१ वटा जाँच गर्दा १६० वटा फेल भए।
अहिलेसम्म कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ। सवारीसाधन जाँचका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा गरेको छ।
महानगरपालिकाले केही समयअघि मात्रै आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरेको छ।वडा १० का ५ वटा गल्लीमा प्रणाली जडान भएको छ। मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटरको पाइप जडान भएको हो।
पाइप जडान भएका स्थानमा जुद्ध बारूण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरूले वडा २१ को ह्युमत करूणामय मार्गदेखि दलाछी गणेश स्थानसम्मको गल्लीमा १३० मिटर पाइप जडान गरेर गएको वर्ष नै परीक्षण गरेको हो।
वडा २९ को कालिञ्चोक मार्गमा, वडा २५ को मासं गल्ली हुँदै महावौद्धतर्फको गल्लीमा पनि प्रणाली जडान भइसकेको महानगरपालिकाले जनाएको छ। दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो।
महानगरपालिकाले घर, भवन, पसल, व्यवसायजस्ता स्थानको फोहर बढारेर सडक किनारा, सतहको ढल निकास हुने स्थान, मंगाल, स्ल्यापजस्ता स्थानमा थुपारेर राख्न प्रतिबन्ध लगाइएको छ।
महानगरपालिको स्वास्थ्य क्षेत्रतर्फ पछिल्लो समय दीर्घ रोगको नियमित औषधि खाने २३ हजार ७६८ ज्येष्ठ नागरिकको लगत संकलन गर्न थालेको छ। महानगरपालिका स्वास्थ्य विभागका अनुसार ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले सेवन गर्ने दीर्घ रोगको औषधिसम्बन्धी लगत संकलन भइरहेको छ। उनीहरूलाई औषधिको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत संकलन भइरहेको महानगरपालिकाले जनाएको छ।