यी हुन् मानिसले आफ्नो जीवनकालमा नतिरी नहुने तिन ऋण

शुक्रबार, १८ माघ २०८१

काठमाडौँ – मानिस जन्मेपछि जीवनभर तीन ऋण तिर्नुंपर्छ भन्ने सुन्दा तपाईँलाई अच्चम लाग्न सक्छ । धर्मशास्त्रका अनुसार मानिसले देव ऋण, ऋषि ऋण र पितृ ऋण जीवनभर तिर्नुपर्ने हुन्छ । देव ऋण प्राकृतिक शक्तिहरूप्रतिको कर्तव्य हो भने ऋषि ऋण ऋषि–मुनि र गुरुप्रतिको दायित्व हो । पितृ ऋण आफ्ना पूर्वजप्रतिको कृतज्ञता र दायित्व भएकाले जीवनभर तिरिरहनुपर्छ ।

धर्मशास्त्रका अनुसार देव ऋण, ऋषि ऋण र पितृ ऋण हरेक मानिसलाई लाग्दछ । जुन प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा चुकाउनुपर्ने हुन्छ ।

देव ऋण: देव ऋण मानवीय अस्तित्वलाई सम्भव बनाउने दिव्य शक्तिहरूको कृतज्ञता स्वरूप उत्पन्न हुने ऋण मानिन्छ । देवताहरू (विशेष गरी भगवान् र प्रकृति शक्तिहरू) प्रतिको कर्तव्य वा दायित्व हो देव ऋण ।

ऋषि ऋण: ऋषि ऋण भनेको हाम्रो ऋषि–मुनि र गुरुप्रतिको कर्तव्य हो । यसलाई चुकाउन हामीले धर्म, शिक्षा र सत्कर्ममार्फत योगदान दिनुपर्छ । यो ऋण चुकाउनु भनेको व्यक्तिगत मात्र होइन, समाज र सृष्टिप्रतिको दायित्व पूरा गर्नु हो । हाम्रो पूर्वज, ऋषि–मुनि र गुरुहरूले मानव समाजलाई ज्ञान, धर्म, संस्कार र शिक्षा प्रदान गरेका छन् । यो ऋण चुकाउनु प्रत्येक व्यक्तिको आध्यात्मिक र सामाजिक दायित्व मानिन्छ ।

ऋषि ऋण हाम्रो तर्फबाट ती ऋषिहरूप्रतिको आभार हो, जसले वेद, उपनिषद् तथा अन्य धर्मग्रन्थहरू लेखेर हामीलाई आध्यात्मिक र नैतिक मार्गदर्शन गरेका छन् । समाजलाई शिक्षित र सभ्य बनाउन ज्ञान र विद्या प्रदान गरेका छन् । योग, धर्म र संस्कृति स्थापित गरी मानव जीवनलाई उन्नत बनाएका छन् ।

पितृ ऋण: पितृ ऋण भनेको आफ्ना पूर्वजप्रतिको कृतज्ञता र दायित्व हो । यसलाई चुकाउन श्राद्ध, तर्पण, सत्कर्म र परम्पराको पालन गर्नुपर्छ । यो ऋण चुकाउनु मानव धर्मको अनिवार्य भाग हो, जसले व्यक्तिगत र सामाजिक जीवनमा सद्भाव र समृद्धि ल्याउँछ ।
पितृ ऋण हाम्रा पितृ (पूर्वज, आमा–बुबा, तथा वंश परम्परा) प्रतिको दायित्व हो । यसलाई हाम्रो अस्तित्वका लागि पूर्वजहरूको योगदानप्रतिको कृतज्ञता मानिन्छ । पितृ ऋण भनेको हाम्रा पूर्वजहरूले जन्म, पालन–पोषण, संस्कार, र वंश परम्परा जोगाउन गरेका योगदानप्रतिको ऋण हो । धर्मशास्त्र अनुसार हरेक व्यक्तिले यो ऋण चुकाउन आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ ।