वडाध्यक्षको लोभलाग्दो कृषि व्यवसाय

शनिबार, १९ माघ २०८१

काठमाडौँ – वडाअध्यक्ष नजिकको सरकार प्रमुख हो । वडाका दैनिक काम काजमा निकै व्यस्त हुन्छन्  । वडाध्यक्ष व्यस्तताका वावजुद पनि पाल्पाको रामपुर नगरपालिका –५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले लोभलाग्दो कृषि व्यवसाय गर्दै आएका छन् ।

करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली र भैँसीपालन गरिरहेका छन् । उनले कृषिकर्मबाट वार्षिक सातदेखि आठ लाख आम्दानी गर्दै आएका छन् ।
वडाध्यक्ष पोखरेल भन्छन् , “वडाका काममा मात्र नभई कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दै आएको छु ।”

पोखरेल वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैँसीको हेरचाह गर्नेलगायत काममा समय बिताउछन् ।

करिब १५ रोपनी जग्गामा हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । पोखरेलका अनुसार त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती रहेको छ। उनि अब काँक्रो, भिण्डी, करेला, लौका, खुर्सानी, सिमीलगायत लहरेबाली जातका तरकारी लगाउने तयारीमा रहेको उनि बताउँछन् ।

उनले “तरकारी खेती मात्र नभई धान, मकै, गहुँ, तोरी जस्ता अन्नबाली लगाउने, भैँसीपालनलाई जोड दीईरहेका छन्

उनि दैनिक बिहान ४ बजे उठेर पशुको आहार व्यवस्थापन, तरकारीको रेखदेख, सिँचाइ जस्ता काम सकेर कार्यालय तथा सामाजिक काममा निस्कनछन्  । यसरी निरन्तर रूपमा उनको  दैनिकी बितिरहेको छ । कार्यालय बिदा तथा शनिबारको दिन समय मिलाएर तरकारी लगाउने, थाक्रा दिने, खेतबारी खनजोत जस्ता कार्यमा उनलाई भ्याइनभ्याई हुन्छ ।