निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका झापाबीच महत्वपूर्ण सम्झौता
काठमाडौँ – निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका झापाबीच निक्षेप तथा कर्जा सुरक्षण कोषले संचालनमा ल्याएको रोजगारमुखी सीप विकाश तालिम कर्जा सुरक्षण योजना २०८१ अन्तर्गत गौरादह नगरपालिका क्षेत्र भित्रका युवाहरुलाई सूचना प्रविधि लगायतका विषय तथा क्षेत्रमा रोजगारमुखी सीप विकाश तालिम प्रदान गर्ने गराउने सम्बन्धी सम्झौता भएको छ ।
समझदारीपत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश घिमिरे र नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री छत्रपति सुबेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री युवराज खतिवडा र कोषका अन्य पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।
यस समझदारी पत्रमा हस्ताक्षर भएसँगै सूचना प्रविधिसँग सम्बन्धित विषयमा रोजगारमुखी सीप विकास तालिमका लागि बिना धितो सुलभ रुपमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अधिकतम पाँच लाख सम्मको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गर्नेछ ।
यसप्रकार सुरक्षण हुने कर्जाको लागि नगरपालिकाले नगर क्षेत्रभित्रका युवाले तालिमका लागि लिएको कर्जाको आधारमा कोषलाई सुरक्षण रकम योगदान गर्नेछ ।