मानिसको धर्म

मंगलबार, २९ माघ २०८१

उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्य बसोवास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्थे र नदीमा डुबुल्की लगाएर बिहानी स्नान पूरा गर्थे ।

एक दिन एकजना महात्मा बिहानै नदीमा स्नान गरिरहेका थिए । स्नान गर्दै गर्दा अकस्मात् उनले नदीको पानीमा डुब्दै गरेको एउटा बिच्छी देखे । महात्माले सो बिच्छीलाई डुब्नबाट बचाउन आफ्नो अँजुलीमा राखेर त्यसलाई पानीबाट बाहिर ल्याउने प्रयास गरे । तर, बिच्छीले उनलाई डस्यो ।

बिच्छीको डसाइको पीडा सहेरै पनि उनले त्यसलाई बाहिर निकाल्न पटक–पटक प्रयास गरे, बिच्छीले उनलाई पटक–पटक नै डस्यो । तैपनि, महात्माले हार मानेनन् । उनले त्यसलाई पानीबाट बाहिर निकालेर सुरक्षित बगरमा पुर्‍याइछाडे ।

महात्माले बिच्छीलाई बचाउने प्रयास गरेको र बिच्छीले उनलाई पटक–पटक डसेको उनका शिष्य र अन्य साधु, सन्त तथा महात्माले देखिरहेका थिए । उनी नदीबाट बाहिर आउनासाथ सबैले एक स्वरमा सोधे– हे महात्मा, त्यो बिच्छीले तपाईंलाई पटक–पटक डस्दा पनि त्यसलाई बचाउनैपर्ने आवश्यकता के थियो ?

बिच्छीको डसाइको पीडा भुलेर महात्माले भने– बिच्छी एउटा निकै सानो जीव हो । अन्य प्राणीलाई डस्नु उसको धर्म हो । पानीमा डुबेर मर्ने–बाँच्ने टुंगो नभएको समयमा पनि उसले आफ्नो धर्म भुलेन भने म मानिस भएर अन्य प्राणीमाथि दया गर्नु आफ्नो धर्म कसरी भुल्न सक्छु ?