कतारमा रहेका नेपालीका लागि आयो खुशीको खबर

मंगलबार, २९ माघ २०८१

काठमाडौं – कतारमा रहेका नेपालीका लागि खुशीको खबर छ । गैरकानुनी रूपमा बस्दै आएका तथा कागजातविहीन आप्रवासी कामदारलाई कतारको आन्तरिक मन्त्रालयले आममाफी दिएको छ । आप्रवासीहरूको प्रवेश, निकास र निवासलाई नियमन गर्ने कानुनको २१ नम्बर उल्लंघन गर्नेलाई तीन महिनाभित्र बिनाजरिमाना स्वदेश फर्कन पाउनेगरी आममाफी दिएको हो ।

मन्त्रालयको सूचनाअनुसार रेसिडेन्सीसम्बन्धी कानुनका प्रावधानहरू उल्लंघन गर्ने वा प्रवेश भिसाअन्तर्गत स्वीकृत अवधिभन्दा बढी बस्नेहरूका लागि यो नियम ९ फेब्रुअरीबाटै लागू गरिएको जनाइएको छ । आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिकले स्वदेश फिर्ता हुनका लागि तोकिएको अवधिभित्र आफ्नो प्रस्थान प्रक्रिया पूरा गर्नुपर्नेछ ।

यसरी आममाफी पाएकाहरूले कुनै पनि दण्ड जरिमानाको सामना नगरी देश छोड्न पाउनेछन् । आममाफीले कानुनको पालना गर्दै देश छोड्ने मानिसहरूलाई सहज र प्रभावकारी तरिका प्रदान गर्ने लक्ष्य राखेको छ ।  कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेका छन् । तीमध्ये ११ हजार ९० जना महिला छन् ।