महत्वपूर्ण फायल हराएपछि सर्वोच्च अदालतमा खैलाबैला

बुधबार, ३० माघ २०८१

काठमाडौँ – महत्वपूर्ण फायल हराएपछि सर्वोच्च अदालतमा खैलाबैला मच्चिएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अवैध बाटोबाट संवैधानिक निकायका ५२ पदाधिकारीलाई नियुक्ति दिएको विषयको फायल इजलासबाट हराएपछि खैलाबैला मच्चिएको हो ।

उक्त फायल केपी ओली नजिकका एक न्यायाधीशले अध्ययनका लागि घर लिएर नफर्काएको बुझिएको छ । विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।

संवैधानिक इजलासमा सुनुवाइ हुने भएपछि मिसिलका पोका फाँटबाट इजलाससम्म लैजानुपर्ने भयो। इजलासमा लैजानुअघि फाइल ठिकठाक छ कि छैन भनेर कर्मचारीहरूले यकिन गर्न खोजे। तर, भयो के भने एउटा फाइल नै गायब रहेछ। सामान्यतः संवैधानिक इजलासमा पेस हुने प्रत्येक मुद्दामा ५ वटा फाइल बनाइन्छ। पाँचवटै न्यायाधीशले एउटा–एउटा फाइल पाउँछन्। उनीहरूले अध्ययन गर्छन्। इजलासमा बहस हुने क्रममा त्यही फाइलमा रहेर प्रश्न र छलफल गर्छन्। तर, यसपालि एउटा फाइल नै थिएन। पाँच न्यायाधीश, चारवटा मात्र फाइल। कर्मचारीहरूलाई आपत् पर्‍यो।

कहाँ गयो त एउटा फाइलरुसम्बद्ध स्रोतका अनुसार, त्यो एउटा फाइल संवैधानिक इजलासमै रहेका एकजना न्यायाधीशले अध्ययनका लागि भन्दै पहिला नै लिएर गएका थिए। ती न्यायाधीश यसअघिको इजलासमा र बुधबारको इजलासमा पनि थिए। तर, उनले फाइल नफर्काउँदा समस्या परेको स्रोतको भनाइ छ। कर्मचारीहरूले सोधीखोजी गर्दा न्यायाधीशसम्म पनि त्यो प्रश्न पुग्यो। ती न्यायाधीशले जवाफ दिए, ‘फाइल त फाँटमै हुनुपर्ने। मैले पठाइदिएको थिएँ।’