प्रधानमन्त्री ओलीलाई आयो गजवको प्रस्ताव
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई गजवको प्रस्ताव आएको छ । क्रिस्टिचियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष चार्ल्स एस याङले प्रधानमन्त्री ओलीलाई दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनका लागि भूमिका खेलिदिन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर पुनरमिलनका लागि भुमिका खेल्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा दिएका छन् ।
सुनहक शान्ति पुरस्कार फाउन्डेसनका अध्यक्षसमेत रहेका याङले नेपाल र कोरियबीचको कूटनीतिक सम्बन्ध भएको ५० औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रूपमा उपस्थित भई सम्बोधनसमेतका लागि आग्रह गरे ।साथै उनले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनका लागि पनि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
यो समाचार कति नेपालीले पत्याए र कतिले पत्याएनन् त्यो हिसाब अहिले निकाल्न कठिन होला । तर यसमा हाँसउठ्दो पक्ष के भने उत्तर र दक्षिण कोरियालाई मिलाउने नेपालको सामर्थ्य के हो रु ? नेपालको अलि हैसियत भएको भनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन हो । त्यो पनि अहिले भारतको ठूल्दाइ प्रवृत्तिले मरासन्न अवस्थामा छ । नेपाललाई यस्ता मञ्चबाट अलग्याउन भारतले ब्रिक्स र अरु मञ्चहरु बनाइरहेको छ ।
उता चीनले आफ्ना महत्त्वपूर्ण बहुपक्षीय मञ्चहरुमा नेपाललाई बोलाउन छाडिसक्यो । एक त नेपालको राजनीतिक नेतृत्वमा विश्वसनीयताको खडेरी छ । अर्को यिनै नेताहरुका कारण नेपालको राष्ट्रिय व्यक्तित्वमा क्षयीकरण आइरहेको छ ।