महजोडी हरिवंश र मदनकृष्णमाथि लाग्यो गम्भीर आरोप
काठमाडौँ – महजोडीको रुपमा विख्यात हरिवंश र मदनकृष्णमाथि गम्भीर आरोप लागेको छ । मह जोडीमाथि अमेरिकाको पैसामा क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लागेको छ । अमेरिकी संसद्को विदेश मामिला समितिका सभापति ब्रायन मास्टले नेपालमा नास्तिकता फैलाउन महजोडीमार्फत पाँच लाख डलर खर्च गरेको बताएका छन् ।
अमेरिकी संसद्को फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले नेपालमा ‘नास्तिकता’ फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको केही दिनअगाडि बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का गतिविधि रोक्नुका सम्बन्धमा सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको ‘फेस द नेसन’ कार्यक्रममा मास्टले ‘नास्तिकता’ फैलाउन नेपालसहित कुन देशमा कति खर्च गरिएको थियो भनेर सार्वजनिक गरेका थिए ।
उक्त समाचार आएपछि सामाजिक सञ्जालमा कुन संस्थाले यूएसएआईडीमार्फत कति पैसा लिए भनेर विभिन्न व्यक्तिले सार्वजनिक गरिरहेका छन् । यूएसएआईडीमार्फत पैसा लिने संस्थाहरूको सूचीमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संस्था मह संचार पनि छ ।
मह सञ्चारले टेलिसिरयल बनाउन यूएसएआईडीमार्फत पैसा लिएर हिन्दु धर्मविरोधी गतिविधि गरेको आरोप हरिवंश र मदनकृष्णलाई लागिरहेको छ । विशेषगरी मदिरा सेवन गरेर ब्राह्मणले श्राद्ध गरेको र क्रिश्चियन धर्मको प्रचार गरेको भन्ने मह जोडीमाथि आरोप लागिरहेको छ ।
मह सञ्चारले भने आरोपको खण्डन गरेको छ । आफूहरू कुनै पनि धर्म विरोधी नरहेको कलाकार हरिवंश आचार्य बताउँछन् । नियोजित रूपमा कोही व्यक्ति विशेष र समूह दुष्प्रचारमा लागिरहेको उनको भनाइ छ ।