ऊर्जा मन्त्री खड्काको अर्को भ्रष्टाचार काण्ड बाहिरियो
काठमाडौँ – नेपाल बिद्दुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाउन न्वारनदेखिएको बल लगाएका ऊर्जा मन्त्री दीपक खड्काको अर्को भ्रष्टाचार काण्ड बाहिरिएको छ ।
साढे २ अर्बको आयोजना सिक्टा सिंचाई आयोजनाको ठेक्का दिदा मन्त्री खड्काले ७ करोड ५० लाखको डिल गरेका छन् भने सिँचाइ सचिव सरिता दवाडी र सिँचाइ विभागका महानिर्देशक देवराज निरौलाले जनही ३ करोड ७५ लाख सुनिश्चित गरेका छन् । मन्त्री र कर्मचारीको कमिसन निश्चित गर्दै शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवाले ठेक्का हात पारेको छ ।
मन्त्रालयअन्तर्गतका हरेक खरिदमा आफ्नो हिस्सा खोजिरहेका मन्त्री खड्काले सिक्टा सिँचाइ आयोजनाअन्तर्गतका दुई ठेक्का ३ प्रतिशत कमिसन सुनिश्चित गरी २ कम्पनीलाई दिने व्यवस्था मिलाएका हुन्।उक्त ठेक्कामा मन्त्री खड्कासहित सिँचाइ सचिव सरिता दवाडी र सिँचाइ विभागका महानिर्देशक देवराज निरौला, आयोजना प्रमुख राजु आचार्यले समेत कमिसन पाउने गरी सेटिङ मिलाइएको हो।
यो प्रकरण नजिकबाट नियालिरहेका मन्त्रालय स्रोतका अनुसार ठेक्का आह्वान गर्दा नै २ कम्पनीलाई दिने सेटिङ मिलाएर मन्त्री, सचिवदेखि आयोजना प्रमुखसम्मलाई ५. २ प्रतिशत बढी कमिसन छुट्याइएको हो। यसअनुसार सचिव र सहसचिवको लागि ०. ७५ प्रतिशत तथा महानिर्देशक र आयोजना प्रमुखको लागि १. ५ प्रतिशत कमिसन छुट्याइएको छ।
सिँचाइ विभागअन्तर्गत सिक्टा सिँचाइ आयोजनाले सिक्टाको शाखा र उपशाखा गरी ४३ किमि नहर बनाउने गरी गत पुस १ गते ठेक्काको टेन्डर आह्वान गरेको थियो। टेन्डर आह्वान गर्दा सीमित कम्पनी मात्रै योग्य हुने गरी आयोजनाले शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवाको योजनामा डकुमेन्ट तयार गरेको थियो।
यसअघि सिँचाइका आयोजनामा काम गर्न हाइड्रोको अनुभवलाई योग्यतामा राख्ने गरिए पनि पुसमा आह्वान भएको सिक्टा ठेक्कामा त्यसलाई समेटिएन। त्यसरी हाइड्रोको अनुभव नराख्दा बढीमा ७–८ कम्पनी मात्रै योग्य हुने निर्माण व्यवसायीको दाबी छ। योसँगै दुई निर्माण कम्पनीले कार्टेलिङ गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो। खरिद अनुगमन कार्यालयले टेन्डर डकुमेन्ट संशोधन गर्न आयोजनालाई निर्देशन दियो। पछि आयोजनाले केही संशोधन त गर्यो तर अझै पूर्णरुपमा भएको छैन।
‘सिक्टा सिँचाइको ठेक्कामा मन्त्री खड्कालाई ३ प्रतिशत कमिसन छुट्याइएको छ’, ठेक्का प्रक्रियामै सहभागी एक व्यवसायीले मन्त्रालय स्रोतको भनाइ पुष्टि गर्दै भने, ‘त्यसमा भूषण राणालाई पनि हिस्सा जानेछ।’ ती व्यवसायीले भनेका भूषण राणा वर्तमान सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भएको पाइएको छ।