दक्षिण कोरियाबाट चार नेपाली निष्काशित

शनिबार, ३ फाल्गुन २०८१

काठमाडौं – दक्षिण कोरियाले चारजना नेपालीलाई निष्काशन गरेको छ । कोरियाले गैरकानुनी रुपमा बसेका बिक, मगर, इसार र घिसिङ थरका नेपालीलाई निश्कासन गरेको हो । उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् ।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।

लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीका अनुसार ‘कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको बुजिएको छ। कतिपय भिसाको म्याद सकिएपछि पनि काम गरिरहेका हुन्छन्,उनीहरुलाई डीपोर्ट गरिरहेको छ।’

इपीएसबाहेक पनि आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जान दलालको प्रलोभनमा परेर धेरै नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दुई महिनाको अवधिमा दक्षिण कोरियाले १५ जनाभन्दा बढी नेपालीलाई निष्काशन गरेको छ।