पोशाक दुरुपयोग गर्ने सशस्त्र प्रहरीका १२० जनालाई कारबाही

मंगलबार, ६ फाल्गुन २०८१

काठमाडौँ – सशस्त्र प्रहरीले पोशाक लगाई फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक, यूट्युवमा फोटो भिडियो पोस्ट गर्ने १२० जनालाई कारवाही गरेको छ । कारबाही पर्नेमा ४ जना डिएसपी, ५ जना सव इन्सपेक्टर, ६ जना वरिष्ठ हवल्दार, ३ जना हवल्दार, ९ जना सहायक हवल्दार, ९१ जवान र २ परिचर रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का लगायतको कारबाही गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेका तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै १२० जनालाई कारबाही गरेको हो ।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई जस्ता कारबाही गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका हुन् ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि पनि यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिएको संगठनले दाबी गरेको छ। संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नको लागी सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ।