कार्य सम्पादनमा फेल भएका मन्त्रीले लगाए प्रधानमन्त्रीमाथि गम्भीर आरोप

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौँ – कार्य सम्पादन मूल्यांकनमा फेल भएका भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका छन् । सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले प्रधानमन्त्री कार्यालयले आफूलाई सबैभन्दा कम नम्बर दिएकोमा दुःखेसो पोखे । उनले प्रधानमन्त्री कार्यालयको मुल्याङ्कन विधि कमजोर भएकोसमेत बताए ।

सुक्रबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले प्रधानमन्त्री कार्यालयले सबैभन्दा कम नम्बर दिएकोमा दुस्खेसो पोखे । प्रधानमन्त्री कार्यालयले केही दिनअघि सबै मन्त्रीहरुको अर्धवार्षिकी कार्यप्रगति विवरणको आधारमा मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो, जसमा मन्त्री दाहाल सबैभन्दा कम अंकसहित पुछारमा छन् ।

कानुनमन्त्री अजय चौरासिया १०० अकंसहित प्रथम, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे ८०. ५५ अंकसहित दोस्रो र रक्षामन्त्री मानविर राई ५९ अंकसहित तेस्रो हुँदा भौतिकमन्त्री दाहाल भने ७.९ अंकसहित अन्तिम अर्थात् २१औँ नम्बरमा रहेका छन् । तर, त्यसप्रति मन्त्री दाहालले असन्तुष्टि जनाए हो ।

प्रधानमन्त्रीकै दल एमालेबाट मन्त्री बनेका दाहालले प्रधानमन्त्री कार्यालयको मूल्यांकन प्रणाली सुधार गर्नुपर्नेमा जोडसमेत दिएका छन् । ‘हाम्रो मन्त्रालयको ठूला आयोजना १९ वटा हुन्, तीमध्ये तीन वटा सम्पन्न भइसकेका छन्, ८ वटाको निर्माण जारी र ८ वटाको प्रक्रिया सकिसक्यो, चाँडै सुरु हुन्छ’, उनले भने, ‘मूल्यांकन प्रणालीमै त्रुटी छन् कि, त्यो सुधार गर्न आवश्यक छ ।’