प्रधानमन्त्री ओलीविरुद्ध देउवाको दुई खतरनाक धराप

शनिबार, १० फाल्गुन २०८१

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई वटा धराप थापेर हाइसन्चो निधाइरहेका छन् । सरकारले ल्याएको अध्यादेशमा अपनत्व नलिएर ओलीमाथि नैतिक दवाव दिएका देउवाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई उचालेर छैटौँ पटक प्रधानमन्त्री बन्ने रोडम्याप तयार पारेका छन् । अध्यादेश फेल हुने देखेका देउवाले राउतलाई उचारलेर संवैधानिक पदाधिकारीको चार वर्षअघिको नियुक्ति विवादको फैसला गराई ओलीमाथि थप नैतिक दवाव दिएर राजीनामा गर्न बाध्य पार्ने योजनामा छन् ।

कम्तीमा सातपटक प्रधानमन्त्री हुन्छन् भनेका ज्योतिषीको गुजारा नै धरापमा पर्ने गरी देउवा धैर्य भएर बस्छन् त अब ? पक्कै बस्ने छैनन् । देउवाले सुर कसिसकेका छन् । तर समस्या के छ भने आरजुले समेत चाल नपाउने गरी बूढानीलकण्ठको आराम कक्षबाट देउवाले चाल चल्नुपर्नेछ ।

भर्खरै देउवा दिल्ली यात्रामा निस्कन लागेका थिए । दिल्लीमा केही राजनीतिक भेटको सम्भावना पनि देखिएको थियो । तर, त्यो यात्रा अन्तिम समयमा रद्द भयो । यसरी देउवाको दिल्लीयात्रा रद्द गर्नुपर्ने अवस्था आउनुमा पनि देउवाको यस्तै घरायसी राजनीतिक संवेदनशीलता पनि एउटा कारण हुनुपर्छ ।

दिल्लीयात्रा रोके पनि देउवाले आफ्नो चाल रोकेका छैनन् । तत्काल उनले दुईवटा धराप थापेका छन् । ओली सरकार पनि ढलोस् र आरजुको गाल पनि नपरोस् भनेर बडो सतर्कतापूर्वक देउवा चलिरहेको स्रोत बताउँछ  ।

देउवालाई ओली सरकार ढाल्नु छ तर ओलीको साथ कायम राख्नु छ । यसका लागि ओली आफैले राजीनामा गर्नुपर्ने अवस्था बनाउनु छ । देउवाले त काँध थापेकै थिए तर अरु नै कारणले ओलीले सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्था आयो भन्ने सन्देश दिनु छ ।

देउवाले चालेको पहिलो चालमा लगभग सफल भइसकेका छन् । ओली आफैले ल्याएको अध्यादेशको धरापमा फसिसकेका छन् । भन्दा दुई तिहाईको तर बहुमत देखाउन नसकेर अध्यादेश नै संसदबाट अस्वीकृत हुने अवस्थाको सरकारका प्रधानमन्त्री छन् ओली । अब अध्यादेश अस्वीकृत भएपछि ओली केवल नैतिक प्रश्नले मात्र घेरिने छैनन्, ठूलो राजनीतिक संकटको भ्वाङमा फस्नेछन् । त्यतिखेर उनले राजीनामाको बाटो रोज्नुपर्नेछ, ‘स्रोत भन्छ ।’