केक्यानको अध्यक्षमा विष्णु खड्का, ३० प्रतिशतले गरे अधिवेशन बहिस्कार

सोमबार, १९ फाल्गुन २०८१

काठमाडौँ – अध्ययनका लागि दक्षिण कोरिया पठाउन शैक्षिक कन्सल्टेन्सीको छाता संगठन कोरिया शैक्षिक परामर्श संघ नेपाल (केइक्यान) को अध्यक्षमा बिष्णु खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाचौँ वार्षिक उत्सब एवं तेस्रो अधिवेशनबाट अध्यक्षमा खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी, उपाध्यक्षमा शशीप्रसाद भट्टराई, महासचिवमा नरेशप्रसाद सेडाई, सचिवमा बद्रीप्रसाद ढकाल, कोषाध्यक्षमा द्रोण बिक्रम थापा निर्वाचित भएका छन् । सदस्यहरूमा गणेश पोखरेल, रमेश पाठक, यदुनाथ उपाध्याय, सन्तोषी पन्त, प्रमोद ढुङ्गाना, नारायण कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएको केक्यानका निर्वतमान अध्यक्ष गणेश शर्माले बताए ।

यता निर्विरोध निर्वाचित कमिटी तयार हुँदैगर्दा अर्को एक खेमाले भने अधिवेशन बहिस्कार गरेर हिडेको थियो । नयाँ सदस्यका रुपमा केक्यानमा प्रवेश भएका करिब १५ जनाको समूहले अधिवेशन बहिस्कार गर्दै केक्यानको सदस्यता त्यागेका छन् । यो जम्मा सदस्य संख्याको ३० प्रतिशत हो ।

उनीहरुले अध्यक्षमा निर्वाचित खड्काले आफ्नै पार्टी प्यालेसमा अधिवेशन गरेर आफै अध्यक्ष बनेको, नातेदार र आफन्तलाई पदाधिकार तथा कार्यसमिति सदस्य बनाएको, निर्वाचन प्रक्रियाबिना रेडिमेट कार्यसमितिको नाम बाचन गरेर नयाँ कार्यसमिति घोषणा गरेको आरोप लगाएका छन् ।

केक्यानमा झण्डै ५० जना सदस्य रहेका छन् । कोरियाले विद्यार्थी भिसामा कडाई गरिरहेको बेलामा आएको खड्काको कार्यसमितिलाई व्यवसायीको पक्षमा काम गर्न निकै ठूलो चुनौति छ ।