जेल हाल भन्दै सिंहदरबार धाउने धुर्मुसलाई झट्का

मंगलबार, २० फाल्गुन २०८१

काठमाडौं – जेल हाल भन्दै सिंहदरबार धाउने धुर्मुसलाई झट्का लागेको छ । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले धुर्मुस र सुन्तलीविरुद्ध जिल्ला अदालत ललितपुरमा ठगीसम्बन्धी मुद्दा दायर गरेकोपछि झड्का लागेको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि लिएको छडको पैसा नतिरेको भन्दै कम्पनीले मुद्धा दायर भएको हो ।

धुर्मुस–सुन्तलीविरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको स्रोतले बताएको छ । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिरादपत्र दायर गरेको हो । २०७५ माघ १६ गते आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर निर्माणमा हात हालेका थिए ।

रंगशाला निर्माणका लागि सामाजिक सञ्जालबाट चन्दा उठाउनेसहित उनीहरूले भरतपुर महानगरपालिकासहित सरकारी निकायसँग पनि सम्झौताहरू गरेका थिए ।महानगर र फाउन्डेसनबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा.  शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो । सम्झौतामा स्रोत अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्ने दुवैको दायित्व हुने उल्लेख छ ।

त्यसैबीच कोरोना महामारीका कारण स्थिति बिग्रिएपछि स्रोत जुटाउन नसकेको भन्दै धुर्मुस सुन्तलीले रंगशाला निर्माणबाट हात झिकेका थिए । फाउन्डेसनले निर्माण गर्न नसक्ने व्यहोरासहित भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । २०७८ माघ २० गते फाउन्डेसनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । तर स्वामित्व हस्तान्तरणको तीन वर्ष भइसक्दा पनि १ सय ३६ कम्पनीहरूलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन ।

लामो समयदेखि सहमतिअनुसार ऋण भुक्तानी गरिदिन अनुरोध गर्दै पछिल्लो समय दैनिकजसो सिंहदरबार धाइरहेका उनले ‘कि १८ करोड ऋण तिरिदेउ कि जेल पठाउ’ भन्दै मन्त्रालयमा हार गुहार गरिरहेका छन् ।