हत्कडी र नेलसहित अमेरिकाबाट नेपाल ल्याएकाहरु धन्नै एक करोड खर्चेर अमेरिका पुगेको खुलासा
काठमाडौं – अमेरिकी प्रहरीले चार्टर्ड फ्लाइटमा हत्कडी र नेल बाँधेर नेपाल ल्याएकाहरु मध्ये केहीले ९० लाख तिरेर अमेरिका पुगेको खुलेको छ । प्रहरीको मानव तस्करी अनुसन्धान ब्युरोका अनुसार प्रतिव्यक्ति ४० देखि ९० लाख रुपैयाँसम्म खर्च गरी अमेरिका पुगेका थिए । उनीहरुमध्ये ७ जना नेपालकै एपोर्टमार्फत विदेशीएका थिए ।
अवैधरुपमा बसिरहेका आप्रवासीलाई डिपोर्ट गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिपछि उनीहरुलाई चार्टर्ड विमानमार्फत नेपाल ल्याइएको हो । यस मध्ये ८ जनालाई अमेरिकी प्रहरीले चार्टर्ड फ्लाइटमा हत्कडी र खुट्टामा नेल बाँधेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोडेको स्रोतको दाबी छ ।
अमेरिकाबाट डिपोर्ट हुनेहरुमा दाङ, रुकुम, रोल्पा र डोटीका युवा-युवती समावेश छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थबहादुर नामका छन् ।
अमेरिकी अधिकारीहरूले डिपोर्टमा परेका नेपालीलाई न्यूयोर्क र अल्बानिया हुँदै नेपाल ल्याएका हुन् । चार्टर्ड फ्लाइटले इन्धन भर्न अल्बानियामा १ घण्टा रोकिएको थियो । एक महिला बिनिता भने व्यावसायिक उडानमार्फत कतार हुँदै स्वदेश फर्किएकी छिन् । निष्कासन स्वीकारेपछि आफूलाई सामान्य फ्लाइटमा राखिएको उनको भनाइ छ ।
उनीहरु दुबई, युरोप, ब्राजिल र मेक्सिको हुँदै अवैध रूपमा अमेरिकी सीमा प्रवेश गरेको अनुसन्धानका क्रममा खुलेको छ । ब्राजिलमा पुगेपछि बिचौलियाहरूले उनीहरूको पासपोर्ट जफत गरेका थिए । जंगल, समुद्र, खोला, हुँदै महिनौं यात्रापछि उनीहरु अमेरिका पुगेका थिए । ११ महिनादेखि अमेरिकी हिरासतमा रहेका यी नेपालीहरू अदालती आदेश अनुसार फर्काइएका हुन् ।