यस्तो छ विश्वमा राजतन्त्र पुनर्स्थापनाको इतिहास

आइतबार, २५ फाल्गुन २०८१

काठमाडौं – केही समययता राजावादीहरुले नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गरिरहेको छन् । पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल लगायत हिन्दूवादी संगठन र राजावादी समूहले राजतन्त्र पुनर्स्थापनाको माग गरिरहका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा भिडियो सन्देश जारी गरी राजनीतिक दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि राप्रपा लगायत राजावादीहरुले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् ।

एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किने छेको पारेर राजावादीहरूले शक्तिप्रदर्शन गर्दै राजतन्त्रको पक्षमा माहोल बनाउन खोजिरहेका छन् । उनीहरुको पर्दशनलाई हेर्दा विभिन्न समयमा विश्वका कतिपय देशमा राजतन्त्र पुनर्स्थापित भएको पाइन्छ ।

इंग्ल्याण्ड ः १६४९ मा राजा चार्ल्स प्रथमको मृत्युदण्डपछि इंग्ल्याण्डमा ओलिभर क्रोमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । क्रोमवेलको मृत्युपछि राजनीतिक अस्थिरता बढ्दा सन् १६६० मा राजा चार्ल्स द्वितीयलाई पुनः सिंहासनमा ल्याइयो । यो घटनालाई इतिहासमा ‘द रेस्ट्रोरेसन’ ९पुनर्स्थापना० भनेर चिनिन्छ ।

फ्रान्स ः फ्रान्सेली क्रान्ति (१७८९–१७९९) पछि नेपोलियन बोनापार्टले शक्ति हातमा लिएका थिए । तर सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८ औंलाई गद्दीमा पुनर्स्थापित गरियो । सन् १८१५ मा नेपोलियनले पुनः सत्ता हात पार्न खोजे (१०० दिन), तर वाटरलू युद्धमा पराजित भएपछि राजतन्त्र पुनः स्थापित भयो । बोर्बन राजवंश १८३० मा समाप्त भयो, जब राजा चार्ल्स १० औंलाई क्रान्तिबाट हटाइयो ।

स्पेन ः सन् १८६८ मा स्पेनको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । तर १८७४ मा राजा अल्फोन्सो १२ औंलाई पुनः सिंहासनमा राखेर राजतन्त्र पुनर्स्थापित गरियो । सन् १९३१ मा पुनः गणतन्त्र स्थापना भयो र राजा अल्फोन्सो १३ औं निर्वासनमा जान बाध्य भए । तानाशाह फ्रान्सिस्को फ्राङ्कोको मृत्युपछि सन् १९७५ मा राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखियो जसले स्पेनलाई लोकतन्त्रतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको थियो ।

इटाली ः नेपोलियन बोनापार्टको पतनपछि सन् १८१५ मा भिएना सम्मेलनमार्फत इटालीका विभिन्न राज्यहरूमा राजतन्त्र पुनर्स्थापित गरिएको थियो । तर १९४६ मा जनमत संग्रहमार्फत इटालीले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्‍यो । राजा उम्बर्टो द्वितीय निर्वासनमा जान बाध्य भए र त्यसयता इटालीमा राजतन्त्र फर्काउन सफल प्रयास भएका छैनन् ।

कम्बोडिया ः १९७० मा कम्बोडियामा गणतन्त्र लागू गरियो र राजा नोरोडोम सिहानुक पदच्युत भए । १९७५–१९७९ को खमेर रूज शासनपछि देश राजनीतिक अस्थिरतामा फस्यो । १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नोरोडोम सिहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनर्स्थापित गरियो ।

त्यस्तै, सोभियत संघको पतनपछि, बुल्गेरिया, रोमानिया, र सर्बियामा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भएका थिए तर ति प्रयासहरु सफल हुन सकेनन् ।बुल्गेरियामा पूर्वराजा सिमेअन द्वितीय २००१–२००५ सम्म प्रधानमन्त्री बने तर उनले राजतन्त्र फर्काउन सकेनन् । रोमानिया र सर्बियामा पनि राजतन्त्र पुनर्स्थापना प्रयास भए, तर सफल भएनन् ।

अफगानिस्तानमा पनि राजतन्त्र पुनर्स्थापनाको माग भएको थियो । सन् २००१ मा राजा जाहिर शाहलाई सम्मानजनक रूपमा ‘राष्ट्रपिता’ घोषणा गरिएको थियो तर राजतन्त्र पुनःस्थापित भएन। त्यस्तै ईरानमा केही समूहहरूले पहलवी वंशलाई फर्काउन प्रयत्न गरेका थिए तर उनीहरु सफल हुन सकेन् ।

हाल विश्वभरका ४३ देश राज्यमा राजा वा रानी राष्ट्रप्रमुख रहेका छन् । जसमध्ये १२ एशियामा, ११ युरोपमा, ९ अमेरिकामा, ६ ओसियानियामा र ३ अफ्रिकामा रहेका छन् ।