चोर ठानेर कुट्दा छोराको ज्यान गएपछि आमाबुबा प्रहरी खोरमा

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौँ – चोर ठानेर निर्घात कुटपिट गर्दा छोराको ज्यान गएपछि अहिले आमाबुबा नै प्रहरीखोरमा पुगेका छन्।

फागुन १५ गते साँझ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, अदुवाबारीका ६४ वर्षीया देवीमाया भ्लोन र उनका श्रीमान् ६३ वर्षीय मीनबहादुर भ्लोन आफ्नो सम्पूर्ण काम सकेर खाना पकाएर खाने लाग्दा एक्कासि एक युवकले झम्टिएर उनीहरुका आँखामा खुर्सानीको धुलो फालेपछि चोरी गर्न आएको मान्छे सम्झेर घरेलु हतियारले प्रतिकार गर्दा ति युवक सक्त घाइते भएका थिए।  देवीमायाका चार छोरामध्य पल्लो डाँडामा बस्ने कान्छो छोरो हरिकृष्णलाई फोन गरिन्गरि  बोलाएर तीनै जना मिलेर युवकलाई घरको थाममा बाँधे राखेका थिए।

कुटपिटमा भ्लोन दम्पती र युवक घाइते भए। राति को हो भनेर कसैले सोधपुछ गरेनन्। भोलिपल्ट थाहा भयो, अपरिचत व्यक्ति त जेठा छारा भरतकुमार भ्लोन रहेछन्।

भोलिपल्ट प्रहरी पनि घटनास्थल पुग्यो। घाइते तीनै जनालाई अस्पताल लगियो। तीनै जनालाई हेटौंडाको अस्पताल ल्याइएको थियो। अर्को दिन उपचारका क्रममा दिउँसो १ः४५ बजे भरतको मृत्यु भयो। छोराको हत्या आरोपमा प्रहरीले भ्लोन दम्पतीलाई नियन्त्रणमा लिएको छ। स्वास्थ्योपचारपछि पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय, मकवानपुरको हिरासतमा छन्।

भ्लोन दम्पतीसँग छोराहरूको भने अंश सम्बन्धी किचलोभएको पाइएको छ । जसले गर्दा छोराहरू अलग्गै बस्दै आएका छन् भने भ्लोन दम्पती दुखजिलो गरेर जीविका चलाइरहेका छन्। अंश सम्बन्धी किचलोका कारण दम्पती अलग बस्दै आएको देखिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

कुटपिटमा परेर भरतको टाउकामा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको थियो। मुखमा मास्क लगाएर कोही चोरी गर्न आएको र आफूहरूलाई सीधै आक्रमण गरेकाले मीनबहादुर र देवीमायाले भान्सामा भेटिएका घरेलु सामानले प्रहार गर्दा भरतको टाउको फुटेको देखिएको इन्स्पेक्टर शाह बताउँछन्। भरतको आक्रमणबाट मीनबहादुरको करङ र देवीमायाको बायाँ हात भाँचिएको थियो।

परिवारसँगै बस्दै आएका भरत २०७६ सालमा काठमाडौं गएका थिए। उनी घर निर्माण गर्ने मजदूर हुन्। वेलावेला अंशको सवालमा कुराकानी हुने गरेको भ्लोन दम्पतीले प्रहरीसँगको बयानमा बताएका छन्। आमाबुबासँग भरतको सम्बन्ध राम्रो नरहेको पनि प्रारम्भिक अनुसन्धानमा पाइएको छ।