केही समय अघि ज्ञानेन्द्रलाई भेटेकी झाँक्रीले भनिन्, पूर्वराजा फर्किन्छन्
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेपालमा अब राजतन्त्रको कुनै गुञ्जायस नरहेको बताएकी छन् । झाँक्रीले संचार माध्यामसंग संवाद गर्दै अब नेपालमा देशमा राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताएकी हुन् ।
उनले कुनै ठाउँको भ्रमण गरेर पूर्वराजा काठमाडौंमा फर्किए पनि राजतन्त्र भने कहिले पनि नफर्किने बताईन् । ‘पूर्वराजा चाहीँ फर्किनुहुन्छ । हिजो पोखराबाट काठमाडौं आउनु भयो । फेरि अन्त जानुभयो भने आउनुहुन्छ । पूर्वराजा चाहीँ फर्किनुहुन्छ । तर, राजतन्त्र चाहीँ फर्किँदैन । म त सम्भावना नै देख्दिनँ,’– उनले भनिन् ।
देशमा राजतन्त्र आयो भने हालिमुहाली गरौंला भनेर राजतन्त्रको पक्षमा अहिले ७०र८० वटा विभिन्न समूहहरु सक्रिय रहेको उनले बताईन् । तर, ती समूहबीच नै एकता नरहेको र एकअर्कामा काटाकाटको अवस्था रहेको उनले बताईन् ।
‘राजा आएर देश बचाइदेउ भन्नेहरु चाहीँ राजा आएर देश बचाउने भन्दा पनि राजा आएपछिको हालिमुहालीको लागि ७०र८० विविध ग्रुपहरु छन् । उहाँहरुको एउटा ग्रुपसँग अर्कोको काटाकाट छ । राजा भन्ने नाममा आउनु भएको छ । राजतन्त्र भनेर झण्डा बोक्ने, आदित्यनाथको तस्वीर बोक्ने मानिसहरु पनि म नजिकबाट धेरै हिसाबले चिन्छु,’– उनले भनिन् ।
साथै, राजावादीहरुले प्रदर्शनका क्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रयोग गरेकोप्रति उनले आपत्ति जनाईन् । आदित्यनाथको राजावादी प्रदर्शनमा समर्थन रहेको जस्तो आफूलाई नलागेको उनको भनाइ छ । उनीहरुले इन्टरनेटबाट तानेर अदित्यनाथको तस्वीर दुरुपयोग गरेको हुनसक्ने नेतृ झाँक्रीको दाबी छ ।