निजामती सेवा प्रवेशको दुर्लभ कथा, उमेरहद अघि यसरी सफल भए ताराबहादुर

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौँ – मानिसले चाहायो भने जस्तो सुकै सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सुर्खेतका ताराबहादुर वली । जीवनमा ठूला ठूला हण्डर रठक्कर खाँदा पनि हरेस नखाएका ओली पहिलो प्रयासमै निजामति सेवामा प्रवेश गर्न सफल भएका छन् ।

३ बर्ष दक्षिण कोरिया बसेर नेपाल फर्किएका वली एक बर्षको मिहिनेत पछि उमेर हद काट्न १ महिना बाँकी रहँदा सरकारी सेवामा प्रवेश गरेका हुन् । उनीसँग श्रीमति दिपा रेग्मीले समेत नाम निकालेकी छिन् ।

गुर्भाकोट–२, सुर्खेतका वलीको जीवन एक साधारण गाउँले परिवारबाट सुरु भएको थियो । आमा नन्दकुमारी वली र वुवा ओबिलाल वलीका कान्छा छोरा ताराबहादुरले नेपालमै स्नातक तहसम्मको पढाइ पूरा गरेर आत्मनिर्भर बन्न अनेकन प्रयास गरे । कहिले नाचगानमा संलग्न भए, कहिले कुखुरा पालनमा हात हाले, त कहिले गाउँमै सानो व्यापार गरेर आर्थिक रुपमा स्थापित हुने कोसिस गरे। तर नेपालमा सहजै सफलता प्राप्त गर्न सकिने वातावरण नभएकाले ती प्रयासहरू पर्याप्त भएनन्।

आफ्नो आर्थिक अवस्थालाई सुधार गर्न उनले वैदेशिक रोजगारीको बाटो रोजे । ३० वर्षको उमेरमा कोरिया गएर उनले केही समय त्यहाँ श्रमिकका रूपमा काम गरे । तर नेपाली कामदारहरूप्रति गरिएको व्यवहारले असन्तुष्ट भएर उनी तीन वर्षमै नेपाल फर्किए।

नेपाल फर्किँदा ताराबहादुरको उमेर ३४ वर्ष भइसकेको थियो । परिवारको सल्लाह अनुसार उनले निजामती सेवामा जागिर खाने लक्ष्य लिए । तर लोक सेवा तयारीका लागि उनका लागि समय चुनौतीपूर्ण थियो । किनकि उमेरको हद ३५ वर्षसम्म मात्र परीक्षा दिन पाइने नियम थियो।

लामो समय पढाइमा ग्याप भएकाले सुरुवातमा उनलाई निकै कठिनाइ भयो । नेपालगन्जमा बस्दै उनले आफ्ना दाजु–भाउजूको सल्लाहमा अनलाइन कक्षामार्फत लोक सेवा तयारी सुरु गरे । अध्ययनका क्रममा उनले महसुस गरे कि एक्लै भन्दा सहयात्रा आवश्यक छ।

ताराबहादुरले पढाइमा साथ दिन सक्ने जीवनसाथीको खोजी गरे। यस क्रममा उनी सल्यान जिल्लामा लोक सेवा तयारी गरिरहेकी दिपा रेग्मीसँग परिचित भए । आपसी समझदारी र समान लक्ष्यकै कारण दुवैले विवाह गरे । विवाहपछि दुवै जना काठमाडौं आए र एकअर्कालाई पढाइमा साथ दिँदै निरन्तर मेहनत गर्न थाले ।

समयको हद नजिकिँदै गर्दा, ३५ वर्षको उमेर पुग्न एक महिना मात्र बाँकी रहँदा ताराबहादुर र उनकी श्रीमती दिपा दुवैले संघीय निजामती सेवामा एकै पटक सफलता हासिल गरेका छन् । अहिले दुवै जना सरकारी सेवामा आबद्ध भई आफ्नो जीवन सफलतापूर्वक अगाडि बढाइरहेका छन्। ताराबहादुरको जिल्ला सरकारी वकिलको कार्यालय मुगु पोस्टिङ भएका छ भने दिपाले जिल्ला हुलाकको कार्यालय खोटाङबाट सरकारी सेवाको सुरुवात गरेकी छिन् ।

धैर्य, निरन्तर मिहिनेत र सही योजना अपनाएमा समयको सीमाले पनि सफलता रोक्न सक्दैन भन्ने उदाहरण बनेका ओली दम्पत्ती । लोक सेवा तयारीमा लागेका हरेक विद्यार्थीका लागि उनको कहानी आत्मविश्वास र सकारात्मक सोचको प्रतीक बन्न सक्नेछ ।