ट्राफिक नियम उल्लंघन गर्ने १५० सवारी साधन प्रहरी फन्दामा

बिहिबार, २९ फाल्गुन २०८१

काठमाडौं –  काठमाडौँ उपत्यकामा  ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’ भएका छन् । आज बिहानैदेखि उपत्यकाको तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्रपार्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले १५० सवारी साधन ‘होल्ड’ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ । नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ।

होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने एसपी गिरीले जानकारी दिए । ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा ५ सय ६३ सवारी साधनलाई कारबाही गरेको छ ।

यसरी होल्ड हुनेले आज दिनभर होली खेल्न नपाउने प्रहरीले जनाएको छ।