केरा खेतीबाट मनग्य कमाई गर्दै शुशिल

शुक्रबार, १ चैत्र २०८१

काठमाडौँ – अमेरिका लाखौँ नेपालीको सपनाको सहर हो । तर म्याग्दी जिल्लाको  मंगला गाउँपालिका–३ सातबिसेका  ३८ वर्षीय सुशील खड्काले सुख सयल जिन्दगी त्यागेर स्वदेश फर्किएर उद्यमी बनेका छन् । उनले कम्पनी खोलेर बाँझिन थालेको जमिनमा केराखेती गरेर राम्रो आम्दानी गरेका छन् भने धेरैलाई रोजगारी दिएका छन् ।

उनि १० वर्ष अमेरिकामा पढी नेपाल फर्किएर व्यावसायिक केराखेती गरेका छन् ।उनले मंगला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् ।

‘हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए तर जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खड्का खुशी छन् ।

अमेरिकाको भेन्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौंमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन् । खड्काको सातबिसेमा एक सय रोपनी पुर्ख्यौली जग्गा छ ।

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए । सातवटा २० रुपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ । खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका सुशील सन् २०१५ मा नेपाल फर्किएका थिए ।

कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उनलाई पुर्ख्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गरेका छन् । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन् ।

केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाएकी छन् । केरा बेचेर पछिल्लो एक वर्षयता एक लाख आम्दानी गरेका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा छन् ।