कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादीको प्यानलै विजयी
सिन्धुपाल्चोक – जिल्लाको सबैभन्दा पुरानो विद्यालय श्री कृष्ण रत्न गंगा माविमा विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादीको प्यानलै विजयी भएको छ । विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार भएको निर्वाचनमा एमाले उम्मेदवार निमेश श्रेष्ठको प्यानलाई हराउँदै एकीकृत समाजवादीका ईश्वरी प्रसाद श्रेष्ठको प्यानल विजय भएको हो ।
कुल १३ सय ८९ मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो । माओवादीले एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरि उम्मेदवार बनाएका श्रेष्ठले ३५८ मत प्राप्त गरेका थिए । उनकै प्यानलबाट राजन बुढाथोकीले ३ सय ९६, लक्ष्मी श्रेष्ठले ३ सय ८२, निर्मला श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै एमाले, कांग्रेस प्यानलबाट उम्मेदवार भएका निमेश श्रेष्ठले ३ सय २२, निमा लामा २ सय ७७, बिन्दा पुरी ३ सय २४ र लजिता श्रेष्ठले ३ सय ३९ मत प्राप्त गरेकी थिइन । माओवादी र समाजवादी गठबन्धनबाट निर्वाचित भएका ईश्वरी श्रेष्ठ एमाले नै हुन् । एमालेले उम्मेदवार नबनाएपछि उनी विद्रोह गरेर अर्को गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए ।

ईश्वरी श्रेष्ठ केही वर्ष एमाले छाडेर समाजवादमा गएको केही समयपछि उनी पुनः एमालेमा नै फर्किएका थिए । उनलाई समाजवादीसहित समाजवादी एमालेको लिगेशीबाट पनि धेरै मत आएको नेताहरूको दाबी छ । एमाले केन्द्रीय सदस्य एवं पूर्वसासंद सुवास कर्माचार्य लगायतका नेताहरूको भित्री समर्थन श्रेष्ठलाई रहेको स्रोतको दाबी छ ।
एमाले र कांग्रेसबाट उम्मेदवार भएका निमेश श्रेष्ठलाई भने एमाले नेता एवं पूर्वसासंद कृष्णराज श्रेष्ठ लगायत नेताहरूको समर्थन रहेको थियो । गठबन्धनलाई पराजित गरेर आफूहरूको प्यानल नै जित भएको र चौतारा क्याम्पसको स्ववियु निर्वाचनमा पनि सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी माओवादी केन्द्रीय सदस्य माधव सापकोटाको दाबी छ । स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमाले बिच गठबन्धन रहेको छ ।